ज्येष्ठ नागरिकलाई नि:शुल्क थेरापी
६ असार, ललितपुर ।
ललितपुर महानगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग महानगर’ कार्यक्रमलाई विस्तार गरी नि:शुल्क थेरापीको सेवा दिने भएको छ । महानगरभित्रका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको लागि सञ्चालित यो कार्यक्रमलाई विस्तार गरी थेरापी सेवासमेत दिन लागिएको महानगरले शुक्रबार आयोजित नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरसभामा नीति तथा कार्यक्रम पेस गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले महानगरमा स्थायी रूपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई निमोनिया रोगविरुद्धको खोप दिने व्यवस्थालाई पनि निरन्तरता दिने बताए । यसैगरी नगरभित्रका नागरिकलाई गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य नीति लागू गर्ने प्रमुखले बताए ।
फागुन महिना नसर्ने रोग परीक्षण महिना ललितपुर महानगरले फागुन महिनालाई नसर्ने रोग परीक्षण महिनाको रुपमा व्याख्या गर्दै अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार आयोजित सातौं नगरसभामा पेस गरिएको नीति तथा कार्यक्रममा मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, क्यान्सर, मोटोपनजस्ता नसर्ने रोग न्यूनीकरणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ यो अभियान संचालन गर्ने नीतिमा उल्लेख छ ।
Post Comment