२५ जेष्ठ २०८२, शनिबार

मधेश प्रदेशमा ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा

२३ जेठ, जनकपुरधाम ।

मधेश प्रदेश सरकारले ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा गरेको छ । मधेश प्रदेश प्रमुख सुमित्रा भणडारीले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रमको घोषणा गरेकी हुन् । उनले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दीप जलाऊ’ नारालाई आत्मसात गर्दै साक्षरता अभियानको कार्यक्रम अगाडि बढाइने बताइन् ।

मधेशमा अघिल्लो जसपा नेपाल नेतृत्वको सरकारले महत्वाकांक्षी ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएको थियो, तर उक्त कार्यक्रममा भ्रष्टाचार भएपछि अहिले अलपत्र अवस्थामा छ । मधेशमा अहिले जनमत पार्टी नेतृत्वको सरकार छ । वर्तमान सरकारले अघिल्लो सरकारकै कार्यक्रमलाई नयाँ स्वरुप दिन खोजेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख भण्डारीले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमको मूल्यांकन र अनुगमनपश्चात निरन्तरता दिइने उल्लेख गरिन् । सरकारले आत्मनिर्भर र समृद्ध मधेश, सुखी मधेशी मूल सोचलाई केन्द्रमा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याएको छ ।

कृषिलाई मेरुदण्डको रुपमा स्वीकार गर्दै खाद्यान्नमा आत्मनिर्भर बनाउन मधेशले देशलाई खुवाउने अभियानलाई केन्द्रमा राखी ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारालाई आत्मसात गर्दै कृषि उत्पादन बढाउने लक्ष्य राखेको छ । मधेश सरकारले मखान खेतीलाई पनि प्राथमिकतामा राखेको छ । आगामी आवको नीति तथा कार्यक्रममार्फत ‘मधेशको सान, स्थानीय मखान’ नारा दिँदै मखान खेतीको विकास र विस्तार योजना ल्याएको छ । मखानको उत्पादन, प्रशोधन, लेवलिङ र ब्रान्डिङ गर्ने लक्ष्य लिइएको प्रदेश प्रमुख भण्डारीले उल्लेख गरेकी छन् । यस्तै सरकारले नीति तथा कार्यक्रममा आँपको बगैंचा, मधेशको समृद्धि नारालाई आत्मसात गर्दै मधेशका आठ वटै जिल्लामा आँप बगैंचा विस्तारको योजना पनि समेटेको छ । मधेशलाई सिंचाइमा आत्मनिर्भर बनाउन ‘खेतखेतमा पानी, घरघरमा खाद्यान्न’ नारा दिएको छ । ‘हर हातमे सीप, घरघरमे रोजगार, समृद्ध मधेशके आधार’अन्तर्गत पहिलो चरणमा एक लाख रोजगारीको अवधारणालाई अगाडि बढाइने पनि घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?