दशकौं सुनसान तिनाउको बसन्तपुरमा दुई वर्षमा पुगे साढे तीन लाख पर्यटक
१६ जेठ, बुटवल ।
दशकौंसम्म सुनसान पाल्पाको तिनाउ गाउँपालिका–३ को बसन्तपुर डाँडोमा पछिल्लो दुई वर्षमा भने साढे तीन लाख पर्यटक पुगेका छन् । समुन्द्री सतहबाट करिब एक हजार मिटर उचाईमा रहेको डाँडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेशन सहित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ ( आधुनिक पिङ), बाल उद्यान, रेष्टुंरा, सेमिनार हल लगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै सुनसान डाँडो आकर्षक पर्यटकीय गन्तव्य बनेको हो ।
२९ वर्षअघि २०५३ सालमा स्थानीय लक्ष्मण गौतमले बुटवलबाट बसन्तपुर डाँडो जोड्ने केबलकारको परिकल्पना गरेका थिए । उनले बुटवलकै तेजप्रसाद सुनारसहित अन्य स्थानीय लगानीकर्तालाई समेटेर करिब सय रोपनी जग्गा खरिद गरी केबलकार निर्माण प्रकृया शुरु गरेका थिए । तर आवश्यक पुंजि अपुग हुंदा दुई दशकसम्म परियोजना अलपत्र थियो । ६ वर्षअघि चन्द्रप्रसाद ढकाल समूहको आईएमई ग्रुपले नेतृत्व लिएपछि भने केबलकार निर्माणले गति लियो र शुरु गरेको २ वर्षमै केबलकार सपना सार्थक भयो । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको माथिल्लो स्टेशन बसन्तपुर डाँडोमा बनेपछि सो गाउं आकर्षक पर्यटकीय गन्तव्य बनेको हो ।केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुंदै आएको दुर्गा माताको मन्दिरलाई पुनःनिर्माण गरी नयां बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् ।
केबलकार बनेसंगै सुनसान गाउंमा आन्तरिक र वाह्य पर्यटकको आगमनले चहलपहल बढेको छ । सञ्चालनमा आएको २ वर्षमा लुम्बिनी केबलकारमा तीन लाख ४७ हजार ९७६पर्यटक आएका कम्पनीले जनाएको छ । जसमा भारतीय पर्यटकको संख्या मात्रै ४१ हजार ६४८ जना र तेस्रो मुलुकका पर्यटकको संख्या २ सय जना रहेको कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरेले जानकारी दिए । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य संख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउंछन् । माथिल्लो स्टेशनमा जीप लाइन, स्काई साइक्लिङ, बाल उद्यान, रेष्टुरा, ज्वायन्ट स्वीङ (पिङ) लगायत पूर्वाधार बनेका छन् । बसन्तपुरबाट बुटवल, तिलोत्तमा हुँदै भैरहवासम्मको दृश्य र मौसम सफा हुँदा हिम श्रृंखला समेत देख्न सकिन्छ । ‘केबलकार नबन्दासम्म गाउँ सुनसान थियो, बाटो, गाडी र पानीको सुविधा नहुदा गाउँलेहरु बसाई सराई गरेर गाउँ रित्तिन थालेको थियो, अहिले दिनहुँ सयौं मान्छे घुम्न आउँछन्, गाउँ नै रमाइलो र गुल्जार भएको छ’, स्थानीय गणेश श्रीस मगरले भने–‘रित्तो डाँडो यति रमाइलो र चहलपहल होला भन्ने सोचेकै थिएनौं, केबलकार बनेपछि डाँडोको मुहार नै फेरिएको छ।’
केबलकार बनेपछि पानी र यातायातको सुविधा भएको, रोजगारी पनि पाएकोर उत्पादन गरेका कृषि उपजले सजिलै बजार पाएपछि गाउँमा खुशी छाएको श्रीसले बताए । यहाँ करिब सयजनाले रोजगारी पाएका छन्, जसमा स्थानीयको बाहुल्यता छ । समुद्री सतहबाट करिब एक हजार मिटर उचाइमा रहेको बसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकको लागि रोजाइको थलो बनेको भारत सुनौलीका आलोक जोशी बताउंछन् । ‘भारतको उत्तर प्रदेशमा हरियाली डाँडामा केबलकार छैनन्, त्यहांका पर्यटकका लागि बसन्तपुर नजिकको नौलो पर्यटकीय गन्तव्य भएको छ’, जोशीले भने, ‘हिन्दु धर्मावलम्बीका लागि कामाख्या मन्दिर दर्शन पनि अर्को आकर्षण छ ।’ धार्मिक र पर्यटकीय पुर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम,बजारको कोलाहल र प्रदुषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण बसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको केबलकारका स्थानीय लगानीकर्ता तेजप्रसाद सुनारले बताए । अहिले बसन्तपुर सेलिब्रेटी कलाकार, खेलाडी, सबैजसो दलका नेता घुम्न आउने देखि म्युजिक भिडियो सुटिङ गर्ने थलो बनेको सुनारले सुनाए ।
‘रुपन्देही आएका बेला पुर्व राष्ट्रपति, प्रधानमन्त्री, पुर्वप्रधानमन्त्री, मन्त्री, सांसद, चर्चित कलाकार सबै एकपटक बसन्तपुर आउने गरेका छन्’, सुनारले भने–‘शुरु गरेको दुई दशकसम्म केबलकार बनाउन नसक्दा धेरैले खिसिट्युरी गर्थे, अहिले उनीहरु नै स्याबासी दिन्छन् ।’ केबलकारले जन्मदिन परेका व्यक्तिलाई उक्त दिन निशुल्क यात्रा गराउने अफर,हरेक महिनाको एक गते सन्ध्या आरती अफर, ५० जना भन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफर सहित विभिन्न व्यवसायिक संघसंस्थाहरुसंग छुट सम्झौता गरेर बजार प्रवद्र्धन गरिरहेको छ । तिनाउं गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले लुम्बिनी प्रदेशको पहिलो केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा बनेपछि उक्त ठाउँ आकर्षक पर्यटकीय गन्तव्य बनेको बताए । ‘दुई वर्ष अघिसम्मसुनसान थलोअहिले तिनाउ गाउँपालिकाको मात्र हैन प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ’–अध्यक्ष श्रेष्ठले भने–‘केबलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं ३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट तथा प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर वापत दिएको छ, यसले स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ ।’ केबलकारले दुई वटा स्थानीय तहलाई बैशाख मसान्तसम्म २१ लाख २४ हजारका दरले कूल ४३ लाख ४८ हजार आम्दानी दिएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले बताए । यसवाहेक तिनाउ गाउँपालिकालाई मनोरन्जन कर समेत दिने गरेको छ । अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ ।
२५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ । विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी संख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजू बताउंछन् । केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषद्ले बसन्तपुरलाई प्रमुख पर्यटकीय थलको सूचिमा सूचीकृत गरेको परिषद्का प्रमुख रामु जोशीले बताए । लुम्बिनी केबलकार सञ्चालनमा आएपछि बुटवल र बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको छ’, जोशीले भने । केबलकार र पाँचतारे होटेलसहित कुल लागत ५ अर्ब रुपैयाँ लागतको आयोजना अन्तर्गत दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा बसन्तपुरमा एकसय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल, क्यासिनो सहित पाँचतारे होटेल बनाउने प्रकृया अघि बढेको छ । केबलकार कम्पनीले बसन्तपुरमा होमस्टे सञ्चालन गर्न गाउंलेलाई आग्रह गरेको छ । उत्पादन भएका सबैखाले कृषि उपज खरिद गरिदिने तथा रोजगारीका लागि योग्य जनशक्ति भए रोजगारी दिने ग्यारेन्टी गरेको केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले बताए ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले लुम्बिनी केबलकार सञ्चालनले बुटवलले प्रदेशको स्थायी राजधानी गुमाउंदा लागेको घाउमा केही हदसम्म मल्हमपट्टि लगाउन सकेको टिप्पणी गर्दै यसले समग्र बुटवलको अर्थतन्त्र चलायमान बनाउन सघाएको बताए । उनले बसन्तपुरमा सबै वर्गका पर्यटकलाई मध्यनजर गरी होटेल छिटो बनाउनुपर्ने सुझाए । ‘क्यासिनो, बैंक्वेट हल, स्वीमिङ पूल सहितको होटेल सञ्चालनमा आउंदा भारतीय र आन्तरिक पर्यटक आगमन बढ्छ,त्यसलाई छिटो अघि बढाउनुपर्छ’- अर्यालले सुझाए । २९ वर्षअघि परिकल्पना गरेर धेरै दुःख, हण्डर खाँदै बीचमा धेरैले विश्वास गर्न छाडेको अवस्थामा केबलकार सञ्चालनको सपना पूरा भएपछि बसन्तपुर र बुटवल दुबैलाई गुल्जार बनाएको छ’, केबलकारका परिकल्पनाकार लक्ष्मण गौतमले भने, ‘निजी क्षेत्रबाट ठूलो लगानी भएको यस्ता परियोजनालाई दीगोरुपमा चलाउन सरकारी निकायबाट साथ र सहयोग हुनुपर्छ,पर्यटकमैत्री नीति नियम बनाउनुपर्छ ।’ बुटवलमै स्थानीय लगानीकर्ता रहेको सिद्धार्थ केबलकार पनि सचालनमा आएको छ । तर औपचारिक उद्घाटन भएको छैन ।
Post Comment