यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल
सारांश
- कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ।
- नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।
- नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग २६ रनमै अलआउट हुँदै लज्जास्पद हार बेहोरेको थियो।
६ मंसिर, काठमाडौं ।
कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ। नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग २६ रनमै अलआउट हुँदै लज्जास्पद हार बेहोरेको थियो। यूएई पनि आफ्नो पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग पराजित भएको थियो।

आजको खेल नेपाली क्रिकेटका लागि विशेष महत्वको छ। यूएईविरुद्धको यो खेल नेपालको १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल हो। संयोगवश नेपालले सबैभन्दा धेरै ओडीआई खेल पनि यूएईसँगै खेलेको छ।
दुई टोलीबीच हालसम्म २० ओडीआई खेल भएका छन्। नेपालले १२ खेल जित्दा यूएईले ८ खेलमा जित निकालेको छ। यूएई नेपालका लागि सबैभन्दा बढी जित र हार बेहोरेको प्रतिद्वन्द्वीसमेत हो।
नेपालले पछिल्लो पटक यूएईसँग एसीसी प्रिमियर कपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो र एसिया कपमा स्थान सुनिश्चित गरेको थियो।

नेपालले हालसम्म खेलेका ९९ ओडीआई खेलमध्ये ४९ मा जित, ४७ मा हार, एक खेल बराबरी र दुई खेलमा नतिजाविहीन बनेको छ।
आज यूएईलाई पराजित गर्न सके नेपालले आफ्नो १००औँ ओडीआई खेललाई ५०औँ जितसँगै ऐतिहासिक बनाउन सक्नेछ।
प्रतिक्रिया