मेरो हातबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखापर्दिनँः गृहमन्त्री लेखक
काठमाडौँ –
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा मुख खोलेका छन्। शनिबार धनुषामा नेपाली कांग्रेसका कार्यकर्तासँगको छलफलका क्रममा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो हातबाट कुनै गलत काम भएको भए राजनीतिमा देखानपर्ने बताए। उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने, टाउको निहुरिने काम गर्दैनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखापर्दिनँ।’
यस विषयमा आफू काठमाडौँ पुगेपछि मन्त्रालयले विज्ञप्ति निकाल्ने बताए। साथै दुई चार दिनमा आफै पनि केही कुरा बोल्ने उनको भनाइ थियो। भिजिट भिसा प्रकरणमा आफूले खोजी गरिरहेको उनको दाबी थियो। उनले भने,’यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु। आजै काठमाडौँ गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई–चार दिनमा आफैं पनि केही कुरा बोल्छु। त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकको राजीनामा माग भइरहेको छ। गृहमन्त्री लेखकको चाहनामै भट्टराईलाई विमानस्थल अध्यागमनको जिम्मवारी दिइएको बताइएको छ।
Post Comment