चुरोट र रक्सीमा कर नबढाउन कांग्रेस सांसद मिश्रको माग
७ जेठ, काठमाडौं ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने धारणा राखेका छन्। बैठकको विशेष समयमा सांसद नारायणदत्त मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने उल्लेख गर्दै गणतन्त्रको रक्षाका लागि परिवर्तनकारी सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिए। उनले भने, ‘पञ्चायतकाल र राणाकालमा भएका ज्यादतीबारे अहिलेका युवापुस्तालाई थाहा हुनुपर्छ, लोकतन्त्र प्राप्तिको निम्ति राजनीतिक दलले गरेका संघर्षको बारेमा पनि नयाँ पुस्तालाई जानकारी हुनुपर्छ ।’ कांग्रेस सांसद मिश्रले आगामी आर्थिक वर्षको बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन् ।
बुधवार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले चुरोट र रक्सीमा कर बढ्ने चाल पाएपछि उत्पादन बढाएर नयाँ गोदामभित्र सामान भरेर बजारमा अभाव देखाउने व्यापारीको दम्भ अन्त्यका लागि पनि कर बढाउनु उपयुक्त नहुने बताए । उनले विगतलाई हेर्ने हो भने साँठगाँठमा भन्सारमा हुने चुहावट रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । अहिले नेपालमा बिचौलियाको कुरा धेरै चलेको बताए । उनले भने, ‘बजेट आउँदैछ । बजेटमा करका दर बढाउनु भनेको चलखेल पनि हो । तसर्थ करको दर बढ्ने चाल पाएपछि वा चाल दिएपछि उत्पादन बढाएर नयाँ नयाँ गोदामभित्र आफ्ना सामान भरेर राख्ने व्यापारीहरू छन् । तसर्थ मेरो दुई हात जोडेर बिन्ती छ कमसेकम यस पटक चुरोट र रक्सीमा कर नबढाउनुस् । अनि हेरौं व्यापारीको दम्भ । भन्सारको मात्र कुरा गर्ने हो भने ५० प्रतिशतको मात्र भन्सार असुली हुने साथै ठूलो साँठगाँठमा फरक बाटो प्रयोग गरी सामान भित्रिन्छ। रोक्ने परको कुरा रोक्नमा सरकारको ध्यान जाओस् ।’मिश्रले भने, ‘हामी संसदमा पक्षमा हुँदा बजेटमा ताली बजाउँछौँ । विपक्षीमा हुँदा कमा र फुलस्टप समेत चेन्ज नगरेको कस्तो बजेट हो यो भन्छौँ । नेपालमा बिचौलियाको कुरा धेरै हुन्छ हरेक ठाउँमा काम गर्ने मान्छेहरू चाहिन्छ । त्यसैले हामीकहाँ नयाँ नयाँ लोकतन्त्र भएर हो वा कुरा गर्न नपाएर हो या सञ्चार क्षेत्रले अरू कुरा गर्ने समय नभएर हो बिचौलियाकै कुरा धेरै भइरहेको छ ।’
Post Comment