मधेसी जनता राज्यको आतङ्कबाट अझै पीडित छन् : महन्थ ठाकुर
१५ वैशाख, काठमाडौं ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली जनता पहिलेदेखि नै आतङ्कबाट पीडित रहँदै आएको बताएका छन् । लोसपाको जनकपुरधामस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाली जनता निरङ्कुश राणा शासन तथा राजतन्त्रको आतङ्कबाट पहिलेदेखि नै गुजरीसकेको बताएका हुन् ।
यद्यपि उनले राजतन्त्र समाप्त भएपछि पनि मधेसी जनता राज्यको आतङ्कबाट पीडित रहँदै आएको भन्दै हामी सबै आतङ्कवाद विरुद्धको लडाइँमा एक हुनु आवश्यक रहेको बताए । भारतको कश्मिरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणको चर्चा गर्दै उनले मधेसी जनता अहिले पनि आतङ्कबाट मुक्ति पाउन नसकेको बताए । उनले धर्म र जातको आधारमा ताकेर निर्दोष पर्यटकहरूलाई आतंकवादीहरुले हत्या गरेकोमा आक्रोश व्यक्त गरे । ठाकुरले नेपालमा पनि धर्म र जातको बाजा बजाउनेहरू बजाइरहेको र यसले नेपाललाई कल्याण नगर्ने बताए ।
उनले भने,‘नेपालमा पनि हिन्दु राष्ट्रको माग उठिरहेको छ, हिन्दु राष्ट्र बनाउनु ठूलो कुरो होइन तर के हिन्दु राष्ट्र बनाउँदैमा पशुपतिनाथको लड्डु आफै घर–घरमा पुग्छ र ?’ नेपालमा विभिन्न धर्म र जातका व्यक्तिहरू बसोबास गर्छन् सबैको विकास भए मात्रै नेपालको विकास सम्भव रहेको उनले बताए । उनले कार्यक्रममा आफ्ना नेता तथा कार्यकर्ताहरूलाई पार्टीलाई सुदृढ बनाउने अभियानमा समेत लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।
Post Comment