ओडीआई शृंखलाको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित
२१ चैत, काठमाडौं ।
युथ ओडीआई शृंखलाको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग बिहीबार फराकिलो हार व्यहोरेको छ । नेपाल यू–१९ टोलीलाई अफगानिस्तान यू–१९ ले १३० रनले हराएको हो । मूलपानी मैदानमा अफगानिस्तानले दिएको ३०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४६.१ ओभरमा १७० रन बनाउँदा अलआउट भयो । नेपालका निरज यादवले अर्धशतक बनाए पनि उनलाई अन्य ब्याटरले साथ दिएनन् ।
र नेपाल फराकिलो हार व्यहोर्न बाध्य भयो । यस्तै अशोक धामी र सन्तोष यादवले समान २४ रन बनाउँदा अभिषेक तिवारीले १७ रन बनाए । अफगानिस्तानका लागि जैबुल्लाह शाहीनले १० ओभरमा २४ रन दिएर २ विकेट लिए । महबुब खान र वाहिदुल्लाह जाद्रानले पनि २–२ विकेट लिँदा अब्दुल अजिज र नूरिस्तानी ओमरजाईले १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनाउँदै ३ सय १ रनको लक्ष्य दिएको थियो ।
अफगानिस्तानका लागि फेसल सिनोजादाईले सर्वाधिक ९७ रन बनाए । त्यस्तै ओपनर खालिद अहमदजाईले ७६ रन बनाए । यी दुई मिलेर दोस्रो विकेटका लागि १५४ रनको साझेदारी गरेका थिए । नेपालका सन्तोष यादवले ३ विकेट लिए भने अभिषेक तिवारीले २ विकेट लिँदा दयानन्द मण्डल र बिपिन प्रसाद शर्माले १–१ विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।
Post Comment