म्याग्दीका जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान
२२ फागुन, पोखरा । म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब डेढ अर्ब अपचलन प्रकरणमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुखसहित ५ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । म्याग्दी जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले बुधबार भएको थुनछेक बहसपछि समन्वय प्रमुख राजकुमार थापासहित ५ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।
सहकारीको पूर्वउपाध्यक्ष रहेका थापासहित पूर्व अध्यक्ष मनप्रसाद थजाली, सञ्चालक समिति सचिव देवी थापा, पूर्व प्रवन्धक रुद्र गुरुङ र लेखा समितिका पूर्व सदस्य लोकबहादुर पुन (लोकेश) लाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको श्रेस्तेदार भोलाराज रेग्मीले जानकारी दिए । माघ २० गते पक्राउ परेका थापासहितलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान प्रतिवेदन तयार गरी प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो ।सरकारी वकिलको कार्यालय प्रहरीको प्रतिवेदन अध्ययन गरी सहकारी ठगीमा मात्र कारबाही गर्न माग गर्दै फागुन १५ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।
थापासहित २५ जनालाई विपक्षी बनाएर अदालतमा दायर अभियोग पत्रमा १ अर्ब १३ करोड बिगो माग दाबी गरिएको थियो । प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले सहकारीको डेढ अर्ब रुपैयाँ जोखिममा परेको भन्दै थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो ।यो सहकारी ठगी प्रकरणमै प्रहरी हिरासतमा रही विरामी परेर अस्पतालमा उपचार गराइरहेका पूर्व अध्यक्ष थमबहादुर गर्बुजालाई स्वास्थ्यमा सुधार भएपछि उपस्थित गराउन अदालतले आदेश गरेको छ । कुमारी सहकारीको रकम अपचलन अभियोगमा अझै १९ जना फरार रहेको प्रहरीले जनाएको छ ।
जिसस म्याग्दीका अध्यक्ष थापा नेकपा एमालेबाट निर्वाचित हुन् । उनलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेकाले मुद्दाको किनारा लगाग्दासम्म पार्टीबाट निलम्बन गरिएको एमाले प्रदेश इन्चार्ज किरण गुरुङले जानकारी दिएका छन् ।थापाले आफू उपाध्यक्ष छँदा सहकारीको रकम आफ्नो बोर्डिङ स्कुल, जग्गा खरिद तथा व्यक्तिगत प्रयोजनमा लगाएको उनीमाथि अभियोग छ । कुमारी सहकारीमा करिब ६ हजार जना बचतकर्ताको रकम हिनामिना भएको उजुरी परेपछि रजिस्ट्रारको कार्यालयले हिसाब मिलाउन १ वर्षको समय दिएको थियो ।त्यो अवधिमा केही रकम सहकारीमा फिर्ता गरे पनि अपचलन भएको रकम मिलान नभएपछि रजिस्ट्रारको कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस गरेको थियो ।
थापाले सहकारीको रकम बुद्ध एकेडेमीमा पनि खर्च गरेको पाइएको थियो । सुरुमा रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय विश्लेषण प्रतिवेदनमा १ अर्ब ४९ करोड अपचलन देखिएको भए पनि थापाले केही जग्गाको हिसाब मिलान गरेका थिए ।तर, अझै करिब १ अर्ब ४२ करोड रुपैयाँ जोखिममा परेको रजिस्ट्रारको कार्यालयको निष्कर्ष थियो ।२०६५ सालमा मनप्रसाद थजालीको अध्यक्षतामा गठन भएको सहकारीबाट निवर्तमान उपाध्यक्षसमेत रहेका जिसस प्रमुख थापालगायतको योजनामा रकम दुरुपयोग भएको प्रतिवेदनमा थियो ।सहकारीमा अहिलेका अध्यक्ष यमबहादुर रोका, ऋण समिति संयोजक सूर्यबहादुर तिलिजा, लेखा समिति संयोजक गेमबहादुर घर्ती छन् ।
२०७९ माघ २८ नयाँ कार्यसमिति चुनिएर आउनुभन्दा अगाडि नै सहकारीमा समस्या आइसकेको थियो । सहकारीमा २०८७ फागुनसम्म रुद्रबहादुर गुरुङ र त्यसपछि दिलिप रम्जाली व्यवस्थापक भएर काम गरेका थिए ।सहकारीबाट लिएको रकमको ब्याज र साँवासमेत सहकारीमा नबुझाई छुट खर्च लेख्न लगाउने काम जिसस प्रमुखले गरेको अभियोग छ । राजकुमारले पत्नीको नामको ऋणसमेत डर, त्रास र धम्की देखाई मिलान गर्न लगाई सहकारीका बचतकर्ताको बचत हिनामिना गरी अपचलन गरेको अनुसन्धान प्रतिवेदनमा थियो
Post Comment