दिल्लीको मुख्यमन्त्री पदबाट आतिशीले दिइन् राजीनामा
दिल्ली । विधानसभा चुनावमा आफ्नो पार्टीको पराजयपछि आतिशीले आइतबार दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् । आम आदमी पार्टी (आप) की नेत्रीले आइतबार राज निवासमा उपराज्यपाल भिके सक्सेनालाई आफ्नो राजीनामा बुझाएकी हुन् । ४३ वर्षीया आतिशी गत सेप्टेम्बरदेखि दिल्लीको मुख्यमन्त्रीको रूपमा कार्यरत थिइन् ।
अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएको केही दिनपछि उनी शीर्ष पदमा पुगेकी थिइन् । उनी सुष्मा स्वराज र शीला दीक्षितपछि दिल्लीको तेस्रो महिला मुख्यमन्त्री थिइन् । दिल्ली विधानसभा चुनावमा आप (आम आदमी पार्टी) ले ठूलो झट्का बेहोरेको छ । आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा मात्र २२ सिट मात्र जित्न सकेको छ । आम आदमी पार्टीलाई सत्ताच्यूत गरेर २७ वर्षपछि भारतको राजधानीमा सत्तामा फर्किएको भारतीय जनता पार्टी (भाजपा) ले शनिबार दिल्ली चुनावमा ऐतिहासिक जनादेश प्राप्त गरेको छ ।
Post Comment