धौलागिरीमा मृत्यु भएका ५ रूसी नागरिकको शव अझै झिक्न सकिएन
२९ असोज , म्याग्दी — धौलागिरी प्रथम हिमालको ७ हजार एक सय मिटर उचाइमा मृत भेटिएका ५ जना रसियन पर्यटकको शव १० दिनदेखि उठ्न सकेको छैन । उद्धारकर्तामा खटिएका अनुसार हेलिकोप्टर ल्यान्ड हुन नसक्ने ठाउँमा शव रहेका छन् ।

५ जना रूसी नागरिक असोज २० गते राति ११ बजेदेखि सम्पर्कविहीन बनेका थिए । धौलागिरी प्रथम आरोहण गर्ने क्रममा रसियन आरोही एलेक्जेन्डर डस्सिको, ओलेक क्लोब्भ, सिस्टिकोभ भ्लादिमिर, नोसेन्को मिखाइल र एसएचपिलेभोर्सको टिम एउटै क्लाइम्बिङ रोप (हिमाल चढ्ने डोरी)मा बाँधिएर एक साथ हिमाल आरोहण सुरु गरेका थिए । सहयोगी र अतिरिक्त अक्सिजनबिना आरोहणमा निक्लेको यो समूहले एउटै डोरीमा बाँधिएर क्रमशः पहिलो, दोस्रो, तेस्रोमाथि चढ्दै डोरी गाड्दै त्यही डोरीमा झुन्डिएर माथि चढ्दै थिए ।

८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरीको चुचुरोमा पुग्नुभन्दा १६७ मिटर तल पुगेपछि उनीहरू थाकेको वा अगाडीको डोरी राम्रोसँग नगाडिएकाले उक्किएर सबै एकसाथ खसेको हुन सक्ने आरोहण गाइडहरूले अनुमान गरेका छन् । ‘असोज २२ गते धौलागिरीमा पहिलो रेकीमै शव एकै स्थानमा देखियो । अनि मृत भेटिएका रसियन पर्यटकको शव उठाउन दुई पटक प्रयास गरें । तलबाट हेर्दासम्म परेको जस्तो देखिए पनि शव रहेको स्थानमा धेरै भिरालो र हाOटमा भएकोले हेलिकोप्टर ल्यान्ड गराउन र उद्धारकर्ता हिँडेर शव ल्याउन सकिने अवस्था रहेन,’ उद्धारमा खटिएका प्रभु हेलिकोप्टरका पाइलट शोभित गौचनले भने ।

पर्यटन विभागका अनुसार धौलागिरी आराोहणका लागप १४ जना रूसी नागरिक सम्मिलित टोलीमध्ये ८ जना र ६ जनाको दुई टोली बनाई आरोहण सुरु गरेको थियो । आरोहण समूहकै पहिलो टिमका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्कीले धौलागिरीको सफल आरोहण गरेका थिए । दोस्रो समूहका ६ जना भने धौलागिरी हिमालको टुप्पोनजिक पुगेपछि दुर्घटनामा परेका थिए । ६ जनामध्ये एक जना थाकेर हिँड्न नसकेपछि समूहको डोरी छुटाएर एक्लै तल फर्केका थिए । उनलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।




Post Comment