मलेसिया श्रमिक ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्याल पनि तानिए
सारांश
- मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि जोडिएका छन् ।
- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यो प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा पूर्वमुख्य सचिव अर्यालयको पनि कनेक्सन देखिएको बताएको छ ।
- उच्च स्रोतका अनुसार, उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको छ ।
३ मंसिर, काठमाडौं ।
मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि जोडिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले यो प्रकरणमा पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा पूर्वमुख्य सचिव अर्यालयको पनि कनेक्सन देखिएको बताएको छ । उच्च स्रोतका अनुसार, उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको छ । तर, उनी भने फरार रहेका छन् । यो प्रकरणको कागजातबारे अनुसन्धान अघि बढाएपछि उनी सम्पर्कविहीन भएको उच्च स्रोतले बतायो । यो ठगी प्रकरणमा सीआईबीले बुधबार मात्रै दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत निर्मला गुरुङ पक्राउ परेका छन् । यसअघि यो प्रकरणमा सीआईबीले चार जनालाई पक्राउ गरेको थियो । जसमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा नगरपालिका–३ का ४२ वर्षीय प्रवीण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ का ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका छन् । सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीमाथि अनुसन्धान गर्दा उनीहरुको संलग्नता देखिएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको हो ।


प्रतिक्रिया