कर्मचारीलाई जागिरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
१९० पटक हेरिएको
Shares
कर्मचारीलाई जागिरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड

सारांश

  • सरकारी कर्मचारीका लागि जागीरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड लाग्ने गरी संघीय निजामती सेवासम्बन्धी विधेयक आएको छ ।
  • कुलिङ पिरियड भनेको सरकारी सेवाबाट राजीनामा दिएर वा अनिवार्य अवकाशमा गएर सेवाबाट बाहिरिएपछि पुन: सरकारी, संवैधानिक, कूटनीतिक वा अन्य सरकारी सेवामा संलग्न हुन रोक्ने निश्चित अवधि हो ।
  • भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद्‍मा लगेको विधेयकमा सरकारी कर्मचारीलाई जागीरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड लगाइने व्यवस्था छ ।

१५ असोज, काठमाडौं । सरकारी कर्मचारीका लागि जागीरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड लाग्ने गरी संघीय निजामती सेवासम्बन्धी विधेयक आएको छ ।

कुलिङ पिरियड भनेको सरकारी सेवाबाट राजीनामा दिएर वा अनिवार्य अवकाशमा गएर सेवाबाट बाहिरिएपछि पुन: सरकारी, संवैधानिक, कूटनीतिक वा अन्य सरकारी सेवामा संलग्न हुन रोक्ने निश्चित अवधि हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद्‍मा लगेको विधेयकमा सरकारी कर्मचारीलाई जागीरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड लगाइने व्यवस्था छ ।

यसअघि यही १३ असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले संघीय निजामती सेवा विधेयक संघीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

२५ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि राय/परामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गरेको थियो । त्यसअनुसार सोही दिन विधेयक आयोग पुगेको थियो ।

लोकसेवा आयोगले पनि सरकारी सेवाबाट राजीनामा दिएका वा अनिवार्य अवकाशमा गएकाहरूका लागि दुई वर्षको यस्तो कुलिङ पिरियड लाग्ने प्रावधानमा फरक राय दिएको छैन ।

प्रस्तावित व्यवस्था ऐनमा रुपान्तरित भए सरकारी सेवाबाट अवकाश वा राजीनामा लिएलगत्तै संवैधानिक, कूटनीतिक वा अन्य सरकारी नियुक्तिमा जाने प्रवृत्ति रोकिने सरकारको विश्वास छ ।

सरकारी कर्मचारीका लागि कुलिङ पिरियडको व्यवस्था लागू गर्ने प्रयास विगतमा पनि भएको थियो । संघीय निजामती सेवा विधेयकमा आएर पनि ऐनमा रुपान्तरित हुन सकेको थिएन ।

२०८० सालमा प्रतिनिधिसभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक (पछि निष्क्रिय भयो) मा पनि सरकारी कर्मचारीलाई जागीरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड लाग्ने प्रावधान थियो ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले २०८२ जेठमा पारित गरेर अगाडि बढाएको उक्त विधेयकको प्रतिवेदनमा दुई वर्षको कुलिङ पिरियडको प्रावधान थियो ।

संसदीय समितिबाट पारित प्रतिवेदनमा निजामती वा अन्य सरकारी सेवाबाट राजीनामा दिएका वा अवकाश भएका कर्मचारीले दुई वर्ष पूरा नभएसम्म संवैधानिक वा सरकारी पदमा नियुक्ति लिन नपाउने व्यवस्था राखिएको थियो ।

प्रतिनिधिसभाले २०८२ असार १५ मा विधेयक पारित गर्दा भने कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा विवाद सिर्जना भयो । संसदीय समितिले राखेको दुई वर्षे व्यवस्थाको दफा र विधेयकको अर्को उपदफाबीच तादात्म्यता नमिलेको भनेर प्रश्न उठेपछि त्यसबारे अध्ययन गर्न प्रतिनिधिसभाले विशेष छानबिन समिति नै बनाएको थियो ।

छानबिन समितिको राय सुझाव समेतका आधारमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाबाट देखिएको त्रुटि सच्याउँदै दुई वर्षको कुलिङ पिरियड कायम गर्ने व्यवस्था राखेर विधेयक अगाडि बढाएको थियो ।

राष्ट्रिय सभाबाट पारित व्यवस्थाअनुसार मुख्यसचिव, सचिव र सहसचिव तहका कर्मचारीलाई अवकाश वा राजीनामापछि दुई वर्षसम्म संवैधानिक, कूटनीतिक तथा सरकारी नियुक्तिमा जान रोक लाग्ने थियो ।

तथापि, उक्त विधेयक ऐनमा रुपान्तरित हुन सकेन ।

प्रतिनिधिसभाले विधेयक पारित गरिसकेको र राष्ट्रिय सभाले संशोधनसहित फिर्ता पठाएको भए पनि त्यसमा प्रतिनिधिसभाले निर्णय गर्न बाँकी थियो ।

यही अवस्थामा २०८२ भदौ २७ गते प्रतिनिधिसभा विघटन भएपछि विधेयक निष्क्रिय भयो । त्यससँगै निजामती सेवा रहेका कर्मचारीलाई जागीरपछि कुलिङ पिरियड लागू गर्ने प्रयास पनि ऐनमा परिणत हुन सकेन ।

अहिले फेरि सरकारले संघीय निजामती सेवा विधेयकमा कर्मचारीका लागि जागीरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड लाग्ने प्रावधान राखेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ