ऊर्जा क्षेत्र पुनरुत्थान गर्न ३ खर्ब ९० अर्ब चाहिने
सारांश
- भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जलविद्युत् क्षेत्रका आयोजना, प्रसारण संरचना र जनशक्तिमा ठूलो क्षति पुर्याएको छ ।
- बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् ।
- बुधबार प्रतिनिधि सभामा सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विपद्पछि ऊर्जा क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन मात्रै प्रारम्भिक रूपमा ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिए ।
७ असोज, काठमाडौं ।
भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जलविद्युत् क्षेत्रका आयोजना, प्रसारण संरचना र जनशक्तिमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् । बुधबार प्रतिनिधि सभामा सार्वजनिक महत्वको विषयमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विपद्पछि ऊर्जा क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन मात्रै प्रारम्भिक रूपमा ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको जानकारी दिए ।

उनका अनुसार सम्पर्कविहीन हुनेमा नेपाल विद्युत् प्राधिकरणका ४७ जना कर्मचारीसमेत छन् । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ४३९ जना सम्पर्कविहीन रहेको र सोही आयोजनाबाट हालसम्म ३९ वटा शव निकालिएको उनले संसद्लाई जानकारी गराए । माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाबाट १७८ जना, रसुवागढीबाट ९३ जना, लाङटाङ खोलाबाट ३९ जना र माथिल्लो त्रिशूली–३ ‘ए’ बाट ३९ जना सम्पर्कविहीन भएको विवरण सरकारले सार्वजनिक गरेको छ । उद्धारका क्रममा केही आयोजना क्षेत्रबाट श्रमिक तथा प्राविधिकलाई भने सकुशल बाहिर निकालिएको मन्त्री श्रेष्ठले बताए ।बाढीका कारण नेपाल विद्युत् प्राधिकरण तथा निजी क्षेत्रका ११ वटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन् । यसबाट राष्ट्रिय विद्युत् प्रणालीमा ४१० मेगावाट विद्युत् उपलब्धता घटेको छ । सञ्चालनमा रहेका २७५ मेगावाट क्षमताका आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ भने प्रसारण संरचनामा भएको क्षतिका कारण थप १३५ मेगावाट उत्पादन प्रभावित भएको छ ।

निर्माणाधीन ५०८ मेगावाट क्षमताका ६ वटा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुगेको सरकारले जनाएको छ । बाढीले त्रिशूलीस्थित २२० केभी सबस्टेसन, मातातीर्थ–चिलिमे प्रसारण लाइन तथा विभिन्न स्विचयार्डमा समेत क्षति पुर्याएको छ ।सिँचाइ तथा नदी नियन्त्रणतर्फका संरचना पुनर्निर्माणका लागि करिब ४ अर्ब ९४ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक विवरण पनि संसद्मा प्रस्तुत गरिएको छ ।बाढीमा ज्यान गुमाएका वा बेपत्ता भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल राहतस्वरूप ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए । त्यस्ता परिवारलाई आगामी ६ महिनासम्म सम्बन्धित कर्मचारीले पाउने तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था पनि गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया