विदेशी विमानस्थलबाट श्रमिक पठाउने थप ३९ म्यानपावर कारबाहीमा
सारांश
- वैदेशिक रोजगार विभागले स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको आरोपमा थप ३९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ।
- विभागले मंगलबार सूचना जारी गर्दै ती कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको जनाएको हो।
- ऐनको दफा २२ अनुसार श्रमिकलाई स्वदेशी विमानस्थलबाट मात्रै वैदेशिक रोजगारीमा पठाउनुपर्ने व्यवस्था छ।
२० साउन, काठमाडौं ।
वैदेशिक रोजगार विभागले स्वीकृतिविना विदेशी विमानस्थल प्रयोग गरी श्रमिकलाई वैदेशिक रोजगारीमा पठाएको आरोपमा थप ३९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले मंगलबार सूचना जारी गर्दै ती कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको जनाएको हो। ऐनको दफा २२ अनुसार श्रमिकलाई स्वदेशी विमानस्थलबाट मात्रै वैदेशिक रोजगारीमा पठाउनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाको कार्यान्वयन भए–नभएको अध्ययन गर्न विभागले २०८२ चैत १ देखि २०८३ जेठ ३१ गतेसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरेको थियो। विभागका अनुसार विवरण नबुझाएका वा अनुमति नलिई विदेशी विमानस्थल प्रयोग गरेका ५९८ वटा म्यानपावर कम्पनी कारबाहीको दायरामा परेका छन्। यसअघि विभागले विवरण पेश गर्न निर्देशन दिएकोमा पछि विवरण बुझाएका तर विदेशी विमानस्थल प्रयोग गरेको पुष्टि भएका थप ३९ कम्पनीलाई जरिबाना गरिएको हो। यस्तै, दुई पटकसम्म निर्देशन दिँदा पनि विवरण पेश नगरेका १२४ वटा म्यानपावर कम्पनीसँग ५० हजार रुपैयाँ जरिबाना किन नगर्ने भन्ने विषयमा सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको विभागले जनाएको छ। विभागका अनुसार कारबाहीमा परेका ३९ वटा कम्पनीले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५४ अनुसार दोस्रो पटक पनि कसुर दोहोर्याएको ठहर भएपछि उनीहरूलाई प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको हो।

प्रतिक्रिया