ढल्यो राजनीतिक चेतनाको धरोहर कोइराला निवास

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
२६ पटक हेरिएको
Shares
ढल्यो राजनीतिक चेतनाको धरोहर कोइराला निवास

सारांश

  • जेन-जी प्रदर्शनका क्रममा मंगलबार बेलुका विराटनगरको अस्पतालचोकस्थित डा.
  • शेखर कोइरालाको निवासमा आगजनी भयो ।
  • अराजक समूहको आगजनीबाट कोइरालाको घर मात्रै जलेन, नेपालमा राजनीतिक र शैक्षिक चेतनाको इतिहास नै धुजाधुजा भयो ।

३० भदौ, विराटनगर ।

जेन-जी प्रदर्शनका क्रममा मंगलबार बेलुका विराटनगरको अस्पतालचोकस्थित डा. शेखर कोइरालाको निवासमा आगजनी भयो । अराजक समूहको आगजनीबाट कोइरालाको घर मात्रै जलेन, नेपालमा राजनीतिक र शैक्षिक चेतनाको इतिहास नै धुजाधुजा भयो । त्यो त्यही घर थियो, जहाँबाट १०४ वर्षे जहानियाँ राणा शासन अनि ३० वर्षे निरंकुश पञ्चायती व्यवस्था अन्त्यका लागि क्रान्तिको बिगुल फुकिएको थियो ।

कृष्णप्रसाद कोइरालाले बनाएको यो घरले तीनवटा प्रधानमन्त्री दिएको थियो । मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला यही घरबाट प्रधानमन्त्री बनेका थिए । विराटनगरको कोइराला निवास कांग्रेस कार्यकर्ताका लागि तीर्थस्थल जस्तै थियो । विराटनगर आउने राजनीतिक चेतना भएका व्यक्तिहरू एक पटक कोइराला निवास पुगेर मात्र फर्कन्थे । समग्र विराटनगरको सान थियो कोइराला निवास । राजनीतिक चेतनाको त्यही अराजक समूहको आगजनीले निमेषभरमै खरानी भयो । ‘यो घर हाम्रो राष्ट्रको धरोहर थियो । आँखै अगाडि जल्दा पनि केही गर्न सकिएन,’ कांग्रेस नेतृ विजयता अधिकारीले भनिन्, ‘प्रहरी बोलाइयो, दमकल बोलाइयो, तर आएन ।’

कोइराला निवास जलिरहँदा उनी डाँको छोडेर रुनबाहेक केही गर्न सकिनन् । अझै पनि उनको आँसु थामिएको छैन । ‘धरोहर जलिरहँदा टुलुटुलु हेरेर बस्नुको विकल्प रहेन,’ विजयताले भनिन्,‘ यो घर मात्रै थिएन, परिवर्तनको जीवित इतिहास थियो ।’ विजयता २०४४ सालदेखि कोइराला निवाससँग नजिक थिइन् । अराजक समूहले गरेको आगजनीपछि उनको मन अझै थामिएको छैन । कोइराला निवासलाई मन्दिरको रूपमा मान्नेहरू आगजनीपछि विछिप्त छन् । ‘

यो हाम्रा लागि मन्दिर थियो । बाटो हिँड्दा श्रद्धाले शिर निहुरिन्थ्यो । इतिहास मेट्ने प्रयास भयो,’ विराटनगर महानगरपालिकाकी पूर्वउपमेयर तथा कांग्रेस नेतृ इन्दिरा कार्की भन्छिन्, ‘कोइराला निवास आम नेपालीले श्रद्धापूर्वक हेर्ने ठाउँ हो ।’ खण्डहर कोइराला निवास देख्दा उनको पनि मन थामिएको छैन । अराजक समूहले नेपाली नागरिकले श्रद्धापूवर्क हेर्ने धरोहर खरानी बनाएको उनको गुनासो छ । ‘इतिहास खरानी बनाउँदा मन दुखेको छ,’ इन्दिराले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?