सुनसरी घटनाबारे मन्त्रिपरिषद् बैठक चुपचाप !
सारांश
- सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनाले देशव्यापी तरंग ल्याइरहेका बेला बुधबार मन्त्रिपरिषद् बैठक बसेको थियो ।
- यो बैठक अघि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले शान्ति र सद्भाव फैलाउन आह्वान गरेको थियो ।
- यो घटनामा प्रधानमन्त्री बालेन शाहले मंगलबार राति फेसबुक स्टाटसबाट केही सम्बोधन गरेका थिए ।
१३ साउन, काठमाडौं ।
सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको घटनाले देशव्यापी तरंग ल्याइरहेका बेला बुधबार मन्त्रिपरिषद् बैठक बसेको थियो । यो बैठक अघि प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकले शान्ति र सद्भाव फैलाउन आह्वान गरेको थियो । यो घटनामा प्रधानमन्त्री बालेन शाहले मंगलबार राति फेसबुक स्टाटसबाट केही सम्बोधन गरेका थिए । तर मन्त्रिपरिषद्को सिंगो बैठकबाट चाहिँ उक्त घटनाबारे केही निर्णय गरे, नगरेको सरकारले बाहिर ल्याएको छैन ।

सधैंजस्तो मन्त्रिपरिषद्को बैठकका नियमित निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार पनि सार्वजनिक गरे । तर यो घटनाबारे उनले केही भनेनन् । सञ्चारकर्मीहरूले प्रश्न गर्दा उनी तर्केर हिंडे । उनका सहयोगीले आज अन्य कार्यक्रम पनि भएकाले यत्ति नै गरौं भन्दै सञ्चारकर्मीहरूलाई टार्न खोजे । यद्यपि सरकारले उक्त घटनाको छानबिनका लागि टोली चाहिँ पठाइसकेको छ । उक्त टोलीले काम थालिसकेको छ । तर मृतक र घाइतेका परिवार लगायतले उक्त घटनाको विषयमा विभिन्न माग गरिखरहेका छन् । क्षतिपूर्तिदेखि शहीद घोषणासम्मका माग उनीहरूका छन् । तर सरकारले यो विषयमा केही निर्णय गरे नगरेको बाहिर ल्याएको छैन ।


प्रतिक्रिया