सन्देश स्याङ्वो पहिलो दृष्टिविहिन चेस च्याम्पियन
सारांश
- दृष्टिविहिन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचाले सँगै नेपालमा पहिलो पटक पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता सम्पन्न भएको छ।
- राष्ट्रिय सहकारी महासंघ हरिहरभवनको सभाहलमा सञ्चालन भएको दुई दिने दृष्टिविहिन बुद्धिचाल प्रतियोगिता पभिलियन चेस एकेडेमी र नेपाल त्रिवासा संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
- दृष्टिविहिन चेस प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुल सानो ठिमीका सन्देश स्याङ्वोले उपाधि उचालेका छन्।
२८ मंसिर, काठमाडौं ।
दृष्टिविहिन खेलाडी सन्देश स्याङ्बोले चेस उपाधि उचाले सँगै नेपालमा पहिलो पटक पभिलियन दृष्टिविहिन चेस प्रतियोगिता सम्पन्न भएको छ।
राष्ट्रिय सहकारी महासंघ हरिहरभवनको सभाहलमा सञ्चालन भएको दुई दिने दृष्टिविहिन बुद्धिचाल प्रतियोगिता पभिलियन चेस एकेडेमी र नेपाल त्रिवासा संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

दृष्टिविहिन चेस प्रतियोगितामा आदर्श सेकेण्डरी स्कुल सानो ठिमीका सन्देश स्याङ्वोले उपाधि उचालेका छन्। उपाधि सँगै सन्देशले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन्। यस्तै नमुना मछिन्द्र उच्च मा. वि. लगनखेलका निमेश महतो थारू दोश्रो स्थानमा रहँदै नगद रु ६ हजार, मेडल, प्रमाणपत्र प्राप्त गरे। आदर्श सेकेण्डरी स्कुलका अजय बर्देवाले तृतीय स्थान प्राप्त गर्दै नगद रु ४ हजार, मेडल र प्रमाणपत्र हात पारेका छन्। यसैगरी सञ्जीवनी उच्च मा. वि. धुलिखेलका सहदेव के.सि. चौथो, आदर्श सेकेण्डरी स्कुल, सानो ठिमीका अजय नेपाल पाँचौं, पृथ्वीनारायण उच्च मा. वि., तारकेश्वरका दिपेश उपाध्याय छैंटौं, अमन थारू ल्यावोटरी स्कूल, किर्तिपुरका अमन थारु सातौं स्थानमा रहेका छन्। स्पर्धामा पृथ्वीनारायण उच्च मा.वि. तारकेश्वरका खेलाडीहरु संयोग के.सी., सुजित तामाङ्ग, सोफिक तामाङ क्रमशः आठौँ देखि दशौ स्थान ओगट्न सफल भएको छन्। महिलातर्फ ल्यावोटरी स्कूल, किर्तिपुरका ऋतिका घिमिरे प्रथम बन्दै नगद रु ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

खेलमा आरोही सुवेदी द्वितीय बन्दै नगद रु ३ हजार, मेडल र प्रमाणपत्र पाइन् भने पृथ्वीनारायण उच्च मा. वि., तारकेश्वरका कोपिला तामाङ तृतिय बन्दै नगद रु २ हजार, मेडल र प्रमाणपत्र पाउन सफल भएका छन् । यसैबिच एक समारोहमा प्रमुख अतिथि ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जनले विजेता खेलाडीहरूलाई पुरस्कृत गरेका छन् । समापन तथा पुरस्कार वितरण कार्यक्रममा मेयर चिरिबाबु महर्जनले नगद ३० हजार पुरस्कार हस्तान्तरण गर्दै प्रतियोगिताको प्रशंसा गरेका छन्। मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिका आफ्नो योजना अनुसार सानो ठूलो परियोजनाहरु क्रमिक रूपमा सम्पन्न गर्दै अगाडि बढिरहेको जानकारी दिदै बुद्धिचाल खेलको धेरै अंश अनुशरण गरेको बताएका छन्। उनले महानगरपालिकाको सानो गल्ली देखि ठूला ठूला पुरातात्विक पोखरी पुनःनिर्माण कार्य मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारवाट सम्मान पाउन सफल भएको जिकिर गरे। नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाटको समेत उपस्थिति रहेको कार्यक्रममा ल्यावोटरी स्कूल(किर्तिपुर), नमुना मछिन्द्र उच्च मा.वि.(लगनखेल), सञ्जीवनी उच्च मा. वि.(धुलिखेल), पृथ्वीनारायण उच्च मा. वि.(तारकेश्वर), आदर्श सेकेण्डरी स्कुल (सानो ठिमी) र अपाङ्ग सेवा संघ (बुङ्ममति) का ५० जना दृष्टिविहिन खेलाडी सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल त्रिविसा संस्थाका संस्थापक रमिला पोखरेल र पभेलियन चेस एकेडेमीका संस्थापक सुशील चौधरीले दोश्रो संस्करण छिटै हुने जानकारी गराएका छन्।


प्रतिक्रिया