साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
२७ पटक हेरिएको
Shares
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल, पर्यटकको रोजाइमा

सारांश

  • विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
  • विशेषगरी साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ ।
  • हालै मात्र पाँच जना विदेशी नागरिकसहित १० जनाको टोलीले सफलतापूर्वक कञ्चनजङ्घा हिमाल आरोहण गरेका छन् ।

 

 ४ जेठ, ताप्लेजुङ ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने विदेशी पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ । हालै मात्र पाँच जना विदेशी नागरिकसहित १० जनाको टोलीले सफलतापूर्वक कञ्चनजङ्घा हिमाल आरोहण गरेका छन् । उहाँहरूले सेभेन समिट ट्रेक्समार्फत आरोहण सम्पन्न गरेका हुन् ।

सफल आरोहण गर्नेमा बेलायत, इरान, कोसोभोका नागरिक र नेपाली शेर्पा समावेश छन् । इलाइट एक्सपिडिसन काठमाडौँका निर्देशक मिङ्मा डेभिड शेर्पाका अनुसार थप ६३ आरोही र पथ प्रदर्शक कञ्चनजङ्घा हिमाल आरोहणका लागि हाल उक्त क्षेत्रमै छन् । कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविरतर्फ पनि विदेशी पर्यटकको आकर्षण बढ्दो छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को याम्फुदिनस्थित कार्यालयका पर्यटन सहायक सूर्यमान राईका अनुसार गत चैतयता मात्रै १६ अमेरिकी, १५ भारतीय, पाँच रुसी नागरिक, चार इजरायली, दुई बेलायती र दुई नेदरल्याण्डका पर्यटक गरी जम्मा ४४ जना विदेशी पर्यटकले दक्षिण आधार शिविर भ्रमण गरेका छन् । कञ्चनजङ्घा उत्तरी आधार शिविरतर्फ पनि पर्यटकको उपस्थिति उल्लेखनीय रहेको छ । घुन्सा पर्यटन चेकपोष्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार हालसम्म तीन सय ६० विदेशी पर्यटकले उत्तरी आधार शिविरको भ्रमण गरिसकेका छन् ।

यसरी कञ्चनजङ्घा क्षेत्र विदेशीका लागि मात्र नभई आन्तरिक पर्यटकको पनि रोजाइमा पर्न थालेको छ । तर आन्तरिक पर्यटकको विस्तृत तथ्याङ्क भने कार्यालयहरूमा सूचीकृत गरिएको छैन । कञ्चनजङ्घा हिमाल समुद्री सतहबाट आठ हजार ५८६ मिटरको उचाइमा अवस्थित छ । यस हिमालको आरोहण तथा अवलोकनका लागि मुख्यतः दुईवटा आधार शिविर दक्षिण र उत्तरी आधार शिविर छन् । उत्तरी आधार शिविर (ओक्ताङ) उत्तरी मार्गबाट कञ्चनजङ्घा आधार शिविर पुग्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारबाट जापनटारसम्म करिब चार घण्टा सवारी यात्रा गर्नुपर्छ । त्यसपछि जापनटारबाट तीन दिनको ट्रेकिङपछि घुन्सा गाउँ पुगिन्छ । घुन्सा गाउँबाट थप तीन दिन पैदलयात्रा गरेपछि पाँच हजार २०० मिटरको उचाइमा अवस्थित ओक्ताङ पुग्न सकिन्छ, जुन कञ्चनजङ्घा हिमालको उत्तरी क्षेत्रको अन्तिम आधार शिविर हो । घुन्सा मार्गमा आधारभूत सुविधायुक्त होटल, होमस्टे, पर्यटक विश्रामस्थल सञ्चालनमा छन्, जसले पर्यटकको बसोबासलाई सहज बनाएको छ । दक्षिण आधार शिविर (पाङपेमा) दक्षिणतर्फको मार्ग प्रयोग गर्दा फुङ्लिङ बजारबाट सवारीसाधनमार्फत झण्डै सात घण्टामा याम्फुदिन गाउँ पुग्न सकिन्छ ।

त्यसपछि तीन दिनको ट्रेकिङ गरेपछि चार हजार ८०० मिटरको उचाइमा रहेको पाङपेमा पुगिन्छ, जुन कञ्चनजङ्घाको दक्षिण क्षेत्रको अन्तिम आधार शिविर हो । यस मार्गमा पनि स्थानीय बासस्थान, होमस्टे र गाइडहरूको व्यवस्था रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भनाइ छ । हिमाल आरोहणकर्ताले आधार शिविरमा केही दिन शारीरिक अभ्यस्तता गरी त्यसपछि क्रमशः क्याम्प १, २, ३ हुँदै शिखरतर्फ यात्रा गर्छन् । आरोहण सफल बनाउन पथप्रदर्शक, उच्च पहाडी कामदार, चिकित्सक र व्यवस्थापन समूहको सहभागिता अपरिहार्य मानिन्छ । कञ्चनजङ्घा हिमाल प्राविधिक हिसाबले नेपालका अन्य आठ हजार मिटर उचाइ भएका हिमालमध्ये एकदमै कठिन मानिन्छ । बदलिँदो मौसम, पातलो अक्सिजन, हिमपहिरोको जोखिमलगायतले यसलाई चुनौतीपूर्ण बनाउँछन् । त्यसैले यहाँको आरोहण सामान्यभन्दा लामो समय लिने र उच्चस्तरको तयारी आवश्यक पर्ने बताइन्छ ।

गत सातामात्र हिमाल आरोहण क्रममा एक फ्रान्सका नागरिकको मृत्य समेत भयो । नेपालको पूर्वी क्षेत्रस्थित कञ्चनजङ्घा हिमाल नेपालको गौरवमात्र नभई अन्तरराष्ट्रियस्तरमा पनि पर्यटन सम्भावनाको धनी क्षेत्र हो । प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले यस क्षेत्रमा अझ पर्यटन आकर्षण बढाउने सम्भावना देखिएको छ । यस क्षेत्रमा सञ्चार र पूर्वाधार थप व्यवस्थित गरिएमा कञ्चनजङ्घा क्षेत्र साहसिक पर्यटन तथा ट्रेकिङ गन्तव्य बन्न सक्छ । ट्रेकिङ मार्गमा नयाँ होमस्टे, बाटोमा सङ्केत चिह्न, प्राथमिक उपचार केन्द्र तथा आपत्कालीन उद्धार सेवा विस्तार भएमा अझ पर्यटक भ्रमण गर्न आउने छन् । कञ्चनजङ्घा क्षेत्रमा पर्यटन विकाससँगै स्थानीय समुदायको सहभागिता उल्लेखनीय छ । होमस्टे सञ्चालन, प्रथप्रदर्शक, पोर्टर, खच्चड सेवा, हस्तकलाका सामग्री बिक्रीजस्ता माध्यमबाट समुदायले राम्रो आम्दानी गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
अफगानिस्तानद्वारा नेपाललाई ३०१ रनको चुनौती
आँबुखैरेनीको आँधीखोलामा ट्रक दुर्घटना, २ जनाको मृत्यु
आँबुखैरेनीको आँधीखोलामा ट्रक दुर्घटना, २ जनाको मृत्यु
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
कांग्रेस सभापति देउवा डडेल्धुराबाट सर्वसम्मत एकल सिफारिस
बहिनीज्वाइँले धारिलो हतियार प्रहार गर्दा जेठीसासूको निधन
बहिनीज्वाइँले धारिलो हतियार प्रहार गर्दा जेठीसासूको निधन
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
बाढीपहिरोका कारण गुल्मीका तीन मुख्य सडकहरु अवरुद्ध
बाढीपहिरोका कारण गुल्मीका तीन मुख्य सडकहरु अवरुद्ध