मुस्ताङमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ४, २०८१
|
|
३० पटक हेरिएको
Shares
मुस्ताङमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन

सारांश

  • कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्क अनुसार स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिक टन उत्पादन भएको छ।
  • स्थानीय जातको स्याउ कुल आठ सय ३० हेक्टर क्षेत्रफलमा लगाइएकोमा पाँच सय ६६ हेक्टर क्षेत्रफलको स्याउका बोटबाट उत्पादन भइरहेको छ।
  • यस वर्ष किसानबाट खरिद गर्दा व्यापारीहरूले औसत मूल्य एक सय १० रुपैयाँ दिएका छन्।

 

४ कार्तिक , काठमाडौँ- पर्यटन र स्याउ उत्पादनमा लोकप्रिय रहेको हिमाल पारीको जिल्ला मुस्ताङमा हालैको सिजनमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन भएको छ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्याङ्क अनुसार स्थानीय जातको स्याउ छ हजार ७८ मेट्रिक टन उत्पादन भएको छ। स्थानीय जातको स्याउ कुल आठ सय ३० हेक्टर क्षेत्रफलमा लगाइएकोमा पाँच सय ६६ हेक्टर क्षेत्रफलको स्याउका बोटबाट उत्पादन भइरहेको छ। यस वर्ष किसानबाट खरिद गर्दा व्यापारीहरूले औसत मूल्य एक सय १० रुपैयाँ दिएका छन्। जसको कुल मूल्य ६६ करोड ८६ लाख ७२ हजार चार सय रुपैयाँ रहेको छ। यस पटक करिब ६० करोड १८ लाख मूल्य बराबरको स्थानीय जातको स्याउ खपत तथा निर्यात हुने अनुमान गरिएकोमा अनुमान गरेभन्दा छ करोड बढी मूल्यको स्याउ बिक्री भएको छ।

स्थानीय जातको स्याउका एउटा बोटबाट औसतमा झन्डै ३६ किलोग्राम स्याउ फल्ने र ती बोटको उमेर सातदेखि ४० वर्ष भन्दा माथिका रहेका कृषि विकास निर्देशनालयले बताएको छ ।   स्थानीय जातको कुल उत्पादनमध्ये रेड डेलिसियसले ३० प्रतिशत, रोयल डेलिसियसले ३० प्रतिशत, गोल्डेन डेलिसियसले २५ प्रतिशत, रिचा रेड डेलिसियसले १० प्रतिशत र फुजीले पाँच प्रतिशत हिस्सा ओगटेका छन्। मुस्ताङमा बिस्तारै स्थानीय जातको भन्दा आयातित उच्च घनत्व स्याउ जातको उत्पादन राम्रो हुँदै जान थालेको समेत देखिएको छ। केही कृषकहरूले लगाएको विदेशी जातको स्याउको बोटबाट निकै छोटो समयमा धेरै परिमाणमा उत्पादन हुँदा व्यावसायिक रूपमा स्याउ उत्पादनको सम्भावना झनै बलियो बन्दै गइरहेको स्रोतको भनाइ छ।

हाल ६० हेक्टर क्षेत्रफलमा मात्रै उच्च घनत्व जातका स्याउको खेती गरिएकोमा ५० हेक्टर क्षेत्रफलका बोटले उत्पादन दिन सुरु गरिसकेका छन्। उक्त क्षेत्रफलबाट एक हजार दुई सय ५० मेट्रिक टन स्याउ फलेको छ। जसको बिक्री दर औसतमा दुई सय रुपैयाँ प्रतिकिलो रहेको छ। यसको कुल मूल्य २५ करोड रुपैयाँ रहेको छ। करिब २२ करोड ५० लाख बराबरको उच्च घनत्व जातको स्याउ फल्ने अनुमान गरिएको भए पनि त्यो भन्दा बढीको स्याउ उत्पादन भएको हो। स्थानीय जातको स्याउ एउटा बोटमा करिब ३६ किलोसम्म फल्ने भए पनि आयातित जातको स्याउ भने एउटा बोटमा करिब आठ किलो फलेको छ। तर पनि उच्च घनत्व जातको स्याउबाट नै कृषकलाई नाफा हुने गरेको कृषि विकास निर्देशनालयले जनाएको छ ।

स्थानीय जातका बोटमा स्याउ फल्न सात वर्षसम्म लाग्नेमा आयातित जातका बोटमा दुईदेखि छ वर्षभित्रमा नै पूर्ण रूपमा उत्पादन लिन सकिने र त्यसको दर पनि महँगो भएकाले थोरै उत्पादनले धेरै मूल्य पाउने उनको भनाइ छ। उच्च घनत्वको स्याउ अन्तर्गत गाला मेमा, रेड डेलिसियस किङरोट, फुजी के कु फुब्रिक्स, गोल्डेन मेमा (डेलिसियस) र विल्टन्स स्टार रेड जोना प्रिन्स जातका स्याउ लगाइएको छ। विगतको तुलनामा यस पटक करिब ३५ प्रतिशतले स्याउको उत्पादन बढेको र यसले स्थानीय कृषकहरूलाई झनै आकर्षण गरेको महानिर्देशक रेग्मीले बताए। स्याउका बगैँचामा मौरी पालन गर्दा परागसेचन राम्रो हुनु, वर्षा नहुँदा फूलमा असर नपर्नु, राम्रो मौसम हुनु, अन्य कारणले फूल झर्न नपाउनु, प्राविधिक सेवा समेत राम्रो हुनु लगायतका कारण पनि उत्पादन राम्रो भएको उनको भनाइ छ।

मुस्ताङमा उत्पादन भएमध्येको १० प्रतिशत जिल्लामा नै खपत तथा भण्डारण हुने गरेको बाँकी रहेको ९० प्रतिशत उत्पादन म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा, नारायणगढ, काठमाडौँ लगायतका ठाउँमा भण्डारण र निर्यात हुने गरेको छ। निर्देशनालयका अनुसार हाल कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, कृषि विकास निर्देशनालय पोखरा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तह एवं कृषक साझेदारीमा निर्माण भएका कोल्ड स्टोर तथा कोल्ड रुमहरूमा तीन सय सात मेट्रिक टन स्याउ भण्डारण गरेर राख्न सक्ने क्षमता रहेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ