संयुक्त राष्ट्र संघमा नेतन्याहु बोल्ने बेला विरोध प्रदर्शन गर्दा हलिउडका २ अभिनेत्री पक्राउ
सारांश
- एएफपीको फुटेजमा संयुक्त राष्ट्र संघको महासभालाई नेतान्याहुले सम्बोधन गर्ने तयारी गरिरहँदा प्रदर्शनमा सहभागी सारन्डनलाई न्युयोर्क प्रहरी (एनवाईपीडी) का अधिकारीहरूले हतकडी लगाउँदै गरेको देखिन्छ।
- ‘ज्युइस भ्वाइस फर पिस’ले आयोजना गरेको प्रदर्शनबाट आइनबिन्डरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको ‘न्युयोर्क पोस्ट’ले जनाएको छ।
- पक्राउबारे प्रतिक्रिया माग्दा न्युयोर्क प्रहरीले तत्काल जवाफ दिएन।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध बिहीबार न्युयोर्कमा भएको प्रदर्शनका क्रममा चलचित्र अभिनेत्री सुसान सारन्डन र ‘ह्याक्स’की अभिनेत्री ह्याना आइनबिन्डर पक्राउ परेका छन्।
एएफपीको फुटेजमा संयुक्त राष्ट्र संघको महासभालाई नेतान्याहुले सम्बोधन गर्ने तयारी गरिरहँदा प्रदर्शनमा सहभागी सारन्डनलाई न्युयोर्क प्रहरी (एनवाईपीडी) का अधिकारीहरूले हतकडी लगाउँदै गरेको देखिन्छ।
‘ज्युइस भ्वाइस फर पिस’ले आयोजना गरेको प्रदर्शनबाट आइनबिन्डरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको ‘न्युयोर्क पोस्ट’ले जनाएको छ।पक्राउबारे प्रतिक्रिया माग्दा न्युयोर्क प्रहरीले तत्काल जवाफ दिएन।
नेतान्याहुले संयुक्त राष्ट्र संघमा सम्बोधन गरिरहँदा प्रदर्शनकारीहरूले ‘इजरायललाई हतियार दिन बन्द गर’ र ‘नरसंहार अन्त्य गर’ लेखिएका ब्यानरसहित सडकमा प्रदर्शन गरेका थिए।
महासभामा नेतान्याहुले भाषण सुरु गरेलगत्तै दर्जनौँ देशका प्रतिनिधि बाहिरिएका थिए। आफ्नो सम्बोधनमा उनले हालै इजरायलको आलोचना गरेका मित्र तथा शत्रु राष्ट्रहरूको कडा आलोचना गरे।
प्यालेस्टाइनलाई राज्यको मान्यता दिने निर्णय गरेका बेलायत र फ्रान्सप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे।
‘द रकी हरर पिक्चर सो’, ‘डेड म्यान वाकिङ’ र ‘द विचेज अफ इस्टविक’लगायत चलचित्रमा अभिनय गरेकी सारन्डन गाजामा इजरायलको युद्धविरुद्धका प्रदर्शनमा सहभागी भइरहेकी छन्।
उनले यसै महिना भेनिस फिल्म फेस्टिभलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्ना राजनीतिक अभिव्यक्तिका कारण आफूले चलचित्रमा काम गुमाइरहेको बताएकी थिइन्।
सारन्डनले आफ्ना विचारका कारण केही एजेन्सीले आफूलाई काम नदिन आग्रह गरेको बताउँदै चलचित्र क्षेत्रमा अझै पनि ‘जायोनिस्टहरूको बलियो प्रभाव’ रहेको दाबी गरेकी थिइन्।
साथै उनले आफ्नो परिवार र समर्थकहरूबाट आफूले सहयोग पाइरहेको बताएकी थिइन्।
प्रतिक्रिया