इन्डोनेसियामा भूकम्प : मृ*तकको संख्या ५१ पुग्यो, ५ हजार विस्थापित
प्रेस संवाददाता
|
आइतबार, श्रावण ३१, २०८३
|
|
७१ पटक हेरिएको
0
Shares
प्रेस संवाददाता
0
Shares
सारांश
पूर्वी इन्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ ।
भूकम्पपछि करिब ५ हजार मानिस विस्थापित भएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ५:५८ बजे ७.
३१ साउन, काठमाडौं ।
पूर्वी इन्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ । भूकम्पपछि करिब ५ हजार मानिस विस्थापित भएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ५:५८ बजे ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेंगारा प्रान्तको फ्लोरेस द्वीपस्थित एन्डे सहरबाट करिब ६८ किलोमिटर उत्तर–उत्तरपश्चिममा थियो । भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो । भूकम्पपछि करिब ३४१ वटा परकम्पसमेत गएको अधिकारीहरूले बताएका छन् । पछिल्लो केही वर्षयताकै इन्डोनेसियाको सबैभन्दा घातक भूकम्पमध्ये यो एक भएको बताइएको छ ।
उपस्वास्थ्यमन्त्री बेन्जामिन पाउलस अक्टाभियानुसले आइतबार टेलिभिजनमार्फत दिएको जानकारीअनुसार ३६ जना गम्भीर घाइते भएका छन् भने ७७ जनालाई सामान्य चोट लागेको छ । इन्डोनेसियाको विपद् व्यवस्थापन निकाय बीएनपीबीका अनुसार भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक सिक्का रिजेन्सीमा ३ हजार ३०० भन्दा बढी मानिस घरबाट विस्थापित भएका छन् । बाटो अवरुद्ध भएपछि उनीहरु त्यहीँ फसेका छन् । कतिपय विस्थापितलाई खेलकुद रंगशालामा अस्थायी रूपमा राखिएको छ । बन्दरगाह सहर माउमेरेमा केही स्थानीय बासिन्दा भत्किएका घरबाहिर त्रिपाल टाँगेर बसेका छन् । केही घाइतेलाई स्थानीय अस्पतालबाहिर बनाइएको अस्थायी शिविरमा उपचार गरिएको छ । बीएनपीबी प्रमुख लेफ्टिनेन्ट जनरल सुहार्यान्तोका अनुसार भूकम्पबाट कम्तीमा १५७ घर पूर्णरूपमा ध्वस्त भएका छन् भने करिब २०० घरमा क्षति पुगेको छ । भूकम्पको केन्द्रबिन्दुको सबैभन्दा नजिक रहेको नाजेकेओ रिजेन्सीमा करिब २ हजार गाउँलेलाई अस्थायी आश्रयस्थलमा सारिएको छ ।
सानासाना द्वीपहरूमा फैलिएको भौगोलिक अवस्थाका कारण उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् । आपत्कालीन उद्धारका लागि तीनवटा हेलिकोप्टर र एउटा उद्धार जहाज परिचालन गरिएको छ । पूर्वी नुसा तेंगाराका प्रहरी प्रमुख रुडी दार्मोकोका अनुसार प्रान्तका विभिन्न क्षेत्रमा भवन भत्किनुका साथै ठूलो भौतिक क्षति भएको छ । उद्धार टोली अझै नाजेकेओका सबै प्रभावित क्षेत्रमा पुग्न सकेका छैनन् । पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै सञ्चार सेवासमेत प्रभावित भएपछि उद्धारमा कठिनाइ भएको स्थानीय खोज तथा उद्धार निकायका प्रमुख फाथुर रहमानले बताएका छन् । क्याबिनेट सचिव टेडी इन्द्र विजायाका अनुसार उद्धार तथा राहतका लागि देशभरबाट ३ हजार ५०० भन्दा बढी सैनिक तथा प्रहरी परिचालन गरिएको छ । भूकम्पलगत्तै जारी गरिएको सुनामी चेतावनी भने पछि हटाइएको छ । तर, परकम्प केही दिनसम्म जारी रहन सक्ने भन्दै उत्तरी द्वीपका केही क्षेत्रमा अधिकारीहरूले थप मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् ।
अल जजिराका अनुसार यसै तटीय क्षेत्रमा सन् १९९२ को डिसेम्बरमा पनि शक्तिशाली भूकम्प गएको थियो । त्यसबेला भूकम्पपछि आएको सुनामीसहितको विपद्मा फ्लोरेसमा २ हजार ५०० भन्दा बढी मानिसको मृत्यु भएको इन्डोनेसियाको भूगर्भसम्बन्धी निकायले जनाएको छ । करिब २९ करोड जनसंख्या रहेको इन्डोनेसिया झन्डै १७ हजार द्वीपमा फैलिएको देश हो । प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले इन्डोनेसिया विश्वका सबैभन्दा बढी भूकम्पीय गतिविधि हुने मुलुकमध्ये एक हो ।
नेपालबाट दु:ख व्यक्त
यसैबीच परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकामा दु:ख व्यक्त गरेका छन् । भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपद्का पीडा र दु:खलाई बुझेको बताउँदै उनले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गरेका हुन् । उनले नेपाल सरकार तथा नेपाली जनताले भूकम्पमा परी ज्यान गुमाएकाहरूका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । भूकम्पबाट प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा, उद्धार तथा राहतका साथै शीघ्र पुन:स्थापनाको कामना समेत उनले गरेका छन् ।
प्रतिक्रिया