झापामा बोर्डिङ स्कुलको शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन
सारांश
- मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ।
- सर्लाहीको लालबन्दी नगरपालिका–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
- ढुङ्गाना आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्।
झापा । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
ढुङ्गाना आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन्। दुवै जना गत वैशाखदेखि उक्त विद्यालयमा अध्यापन गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार विद्यालय परिसरभित्र एक महिलाको शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेकाले शिक्षक–शिक्षिकाहरू नियमित सम्पर्कमा थिएनन्। सोमबार विद्यालय सञ्चालनका क्रममा ढुङ्गाना र गुप्ता दुवै सम्पर्कमा नरहेको पाइएपछि विद्यालय प्रशासनले खोजी थालेको थियो।
उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने दुवैको मोबाइल फोन पनि सम्पर्कविहीन रहेको लुइँटेलले बताए। दिनभर सम्पर्क हुन नसकेपछि सोमबार साँझ करिब ४ः३० बजे गुप्ताले आफूलाई वाट्सएपमार्फत सन्देश पठाएको प्रधानाध्यापक लुइँटेलले जानकारी दिए।

“सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए,” लुइँटेलले भने।
स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कमा नरहेको बताइएको छ। प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी अनुसन्धान अघि बढाएको जनाएको छ। शव परीक्षणका लागि पठाइएको छ भने मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सम्पर्कविहीन रहेका गुप्ताको खोजीसमेत तीव्र पारिएको छ। घटनाबारे सबै पक्षबाट अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया