आश्मान ह*त्या प्रकरण: होटलमा बसेका ६ जना नियन्त्रणमा
सारांश
- मकवानपुरको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपालीको हत्या प्रकरणमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकैको होटलमा सोही दिन बसेका ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
- आश्मान आइतबार (हिजो) बिहान हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक शंकास्पद अवस्थामा मृत फेला परेका थिए।
११ साउन, काठमाडौं ।
मकवानपुरको थाहा नगरपालिका–१० का ४१ वर्षीय आश्मान गोपालीको हत्या प्रकरणमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकैको होटलमा सोही दिन बसेका ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आश्मान आइतबार (हिजो) बिहान हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक शंकास्पद अवस्थामा मृत फेला परेका थिए। उनको शव सडकबाट करिब २० मिटर तल झाडीमा भेटिएको थियो। शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि प्रहरीले सुरुदेखि नै घटनालाई शंकास्पद मानेर अनुसन्धान अघि बढाएको थियो। पोस्टमार्टमको प्रारम्भिक प्रतिवेदनले पनि उनको मृत्यु सामान्य नभई कुटपिट वा अन्य आपराधिक घटनासँग सम्बन्धित हुन सक्ने संकेत गरेको प्रहरी स्रोतको भनाइ छ।

प्रारम्भिक अनुसन्धानअनुसार आश्मान घटनाअघि एक पुरुष र एक महिलासँग होटलमा बसेको खुलेको छ। होटलबाट बाहिरिएपछि उनीहरूसँगै गएका वा छुट्टिएका भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। स्थानीय बासिन्दाले मध्यराति झगडा भएको र कसैले गुहार मागेजस्तो आवाज सुनेको बताएका छन्। यही आधारमा प्रहरीले घटनाको समयक्रम (टाइमलाइन) तयार पार्ने काम गरिरहेको छ।

अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल प्रहरीको ‘स्निफर डग’ परिचालन गरिएको छ भने होटल तथा आसपासका क्षेत्रका सीसीटीभी फुटेज संकलन गरी सूक्ष्म अध्ययन भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल वरपरबाट प्राप्त प्रमाण, मोबाइल कल डिटेल, लोकेसन र अन्य प्राविधिक पक्षको समेत विश्लेषण भइरहेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेले घटनाको वास्तविक कारण र संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान जारी रहेको बताए। उनका अनुसार नियन्त्रणमा लिइएका ६ जनामाथि सोधपुछ भइरहेको छ र अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया