सर्लाहीका सबै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित पुगे कर्मचारी
फागुन १९, सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार मतदानका लागि खटिएका कर्मचारी, नेपाल प्रहरी र निर्वाचन प्रहरीसहितको टोली आवश्यक सामग्री लिएर सम्बन्धित मतदानस्थलमा पुगिसकेको छ ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख ऋषिराम पौडेलले जिल्लाभर निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार मतपत्र बाहेक अन्य ५० प्रकारका सामग्रीसहित सम्बद्ध अधिकारीहरू मतदान केन्द्रमा पुगेका छन् । मतपत्र भने भोलि सबै मतदान केन्द्रमा पुर्याइने तयारी रहेको उनले बताए ।
जिल्लामा ६२८ मतदान केन्द्र र ३१२ मतदानस्थल रहेका छन् । सबै मतदान केन्द्रमा मतदानस्थल निर्माण तथा व्यवस्थापनको काम सुरु गरिएको पौडेलले जानकारी दिए । निर्वाचन सम्पन्न गराउन जिल्लाभर करिब तीन हजार ७०० जना कर्मचारी खटिएका छन् ।
यसैबीच, जिल्ला सुरक्षा समितिले सुरक्षा संवेदनशीलता विश्लेषणका आधारमा आवश्यक सुरक्षा प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले जानकारी दिए । उनका अनुसार मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीका चार निर्वाचन क्षेत्रमा पाँच लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।



Post Comment