१२ फाल्गुन २०८२, मंगलवार

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ आजदेखि खुला

 

१२ फागुन,काठमाडौं ।

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको जनाएको छ । निष्कासन गरिएको शेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

 

आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै, लगानीकर्ताले ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदनसमेत दिन सक्नेछन् । कम्पनीका अनुसार यो आईपीओ छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गतेसम्म खुला रहनेछ । तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा म्याद थप गर्न सकिने व्यवस्था छ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सम्हालेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो । सोही स्वीकृतिअनुसार कम्पनीले पहिलो चरणमा पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ । अब सर्वसाधारणका लागि खुला गरिएको उक्त आईपीओमा लगानीकर्ताको आकर्षण रहने अपेक्षा गरिएको छ ।

Post Comment

छुटाउनुभयो कि ?