मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
१२ फागुन, जनकपुर ।
१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको कञ्चनवन पुग्ने भएको छ । आइतबार ध्रुव कुण्डमा विश्राम पश्चात् आज बिहानैदेखि परिक्रमा यात्री कञ्चन वनका लागि प्रस्थान गरेका छन् । त्रेता युगमा राम र जानकी विवाहपश्चात् विहार गर्दै मिथिलाका विभिन्न क्षेत्र पुगेका थिए । त्यही क्रममा कञ्चन वन पुगेर रङ खेलेको जनविश्वास रहेको छ । सोही दिनको सम्झनामा कञ्चन वनमा ‘होरी उत्सव’ पनि मनाउने गरिन्छ । आज परिक्रमा यात्रुहरू कञ्चन वन पुगेर स्थानीय र साधुसन्तसंग होली खेल्छन् । मिथिलाञ्चल क्षेत्रमा आजैदेखि होली सुरु हुने मान्यता रहेको छ ।

धनुषाको कचुरीबाट सुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली सातौँ दिन घ्रुवकुण्ड पुगेको थियो भने आजको विश्राम स्थल कञ्चन वन रहेको छ । परिक्रममा भोली मंगलबार धनुषाको पर्वत, बुधबार धनुषा धाम, बिहीबार सतोषर, शुक्रबार औरहीमा एक–एक रात विश्राम गर्नेछ । त्यस्तै, पूर्णिमाको अघिल्लो रात परिक्रमा जनकपुरधाम आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ । नेपाल–भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्राम स्थल रहेको छ । परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।




Post Comment