१ फाल्गुन २०८२, शुक्रबार

कर्णालीमा नयाँ उम्मेदवारका पुरानै चुनावी नारा

२९ माघ, सुर्खेत ।

कालिकोटको सुनथराली विमानस्थल निर्माण सुरु भएको ४२ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । यस अवधिमा स्थानीय निकाय, संविधान सभा, प्रदेश, प्रतिनिधि सभा र स्थानीय तहका गरी दर्जनौं निर्वाचन सम्पन्न भए । तर, हरेक चुनावमा प्राथमिकताका साथ उठाइने उक्त विमानस्थल निर्माण र सञ्चालनको एजेण्डा कार्यान्वयनमा भने आउन सकेको छैन् । भारतीय नाका जमुनाहादेखि चीनको हिल्सासम्म जोड्ने त्रिदेशीय सडक पनि कर्णालीको पुरानै चुनावी नारा हो । ५ सय ८ किलोमिटर लामो यो सडकअन्तर्गत कालीकोट खुलालुदेखि हिल्सासम्म ३ सय ४७ किलोमिटर पर्छ । हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्यसहित ०५७ सालमा सुरु गरिएको यो आयोजना राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत भए पनि पूर्णता पाउन सकेको छैन । हरेक प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा यो सडक दलहरूको प्रमुख एजेण्डा बन्ने गरेको छ ।

कर्णालीको विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्गलाई दुई लेनमा स्तरोन्नति गर्ने वाचा पनि २०६४ सालयता दोहोरिँदै आएको छ । सुर्खेत, दैलेख, कालीकोट, मुगु र जुम्लाका उम्मेदवारहरूले प्रत्येक चुनावमा यसै एजेण्डालाई दोहोर्याउँदै मत माग्दै आएका छन् । त्यस्तै, भेरी करिडोर (नेपालगन्ज–छिन्चु–जाजरकोट, डोल्पा–धो मोरिम्ला–तिब्बत तथा सुर्खेत–जुम्ला–सिन्जा–मुगु–नाग्चेनाग्ला–तिब्बत सडक) पनि घोषणा पत्र र भाषणको स्थायी विषय बनेको छ । भेरी–बबई बहुउद्देश्यीय सिँचाइ आयोजना, पहाडी जिल्लाका विमानस्थलहरूको स्तरोन्नति र नियमित उडान, खानेपानी समस्या समाधान, सुकुम्बासीलाई लालपुर्जा वितरण, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा र सडक पूर्वाधार विकास जस्ता आकर्षक नाराहरू पनि हरेक निर्वाचनमा दोहोरिँदै आएका छन् । जेन्जी आन्दोलनपछि हुन लागेको आम निर्वाचनमा धेरै स्थानमा उम्मेदवारका अनुहार नयाँ देखिए पनि चुनावी एजेण्डामा खासै नयाँपन देखिँदैन । कर्णाली प्रदेशको राजधानी सुर्खेतका दुई निर्वाचन क्षेत्रमा मात्रै २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर अधिकांशका एजेण्डा पुरानै प्रतिबद्धताको पुनरावृत्तिमा सीमित देखिन्छन् ।

 सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार कुलमणी देवकोटा पहिलोपटक प्रतिनिधि सभा चुनावमा होमिएका छन् । उनी बृद्धभत्ता वृद्धि, शिक्षामा गुणस्तर सुधार र गाउँ विकासका आश्वासनसहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । यही क्षेत्रबाट नेपाली काँग्रेसका नारायणकुमार कोइरालाले देशको समग्र विकासका लागि आफूलाई मतदान गर्न आग्रह गरिरहेका छन् । नेकपाका उम्मेदवारले समावेशिता र संघीयताको कार्यान्वयनलाई आफ्नो मुख्य एजेण्डा बताउँदै त्यसका लागि पार्टीलाई जिताउनुपर्ने धारणा राखेका छन् । रास्वपाका उम्मेदवार भने नयाँ पुस्ताको माग सुशासन र विकास भएको भन्दै आफ्नो पक्षमा मत मागिरहेका छन् । रास्वपाले कर्णालीका सबै निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। एमालेले पनि अधिकांश क्षेत्रमा नयाँ उम्मेदवार अघि सारेको छ भने नेपाली काँग्रेसले कर्णालीका १२ वटै क्षेत्रमा यसअघि चुनाव नलडेका नयाँ र युवा अनुहारलाई मैदानमा उतारेको छ । नेकपाले भने केही स्थानमा पूर्व सांसद तथा मन्त्री भइसकेका नेताहरुलाई पुनः उम्मेदवार बनाएको छ । उम्मेदवारका अनुहार फेरिए पनि कर्णालीको विकाससँग जोडिएका पुरानै एजेण्डा दोहोरिँदा मतदातामा यथार्थ कार्यान्वयनप्रति प्रश्न उठ्न थालेका छन् ।

चुनावी प्रतिबद्धता कागजमै सीमित हुने कि व्यवहारमा रूपान्तरण हुन्छ भन्ने विषय कर्णालीवासीका लागि अझै प्रतीक्षाकै विषय बनेको छ । फोटोः २०८० फागुन १२ गते सफल परिक्षण उडानमा तत्कालिन उपप्रधानमन्त्री पुर्णबहादुर खड्का र पर्यटन मन्त्री सुदन किराँतीसहितका नेताहरु । ४ दशकदेखि निर्णाणाधिन सुनथराली विमानस्थलमा उपस्थित स्थानीयहरु । यो विमानस्थल दुई पटक परिक्षण उडान गरिए पनि नियमित सञ्चालनमा आउन सकेको छैन ।

Post Comment

छुटाउनुभयो कि ?