मधेशको सवालमा सधै लडि रहने छु: राजेन्द्र महतो
सर्लाही, २१ माघ ।
राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राजेन्द्र महतोले मधेशको सवालमा सधैं राज्य शक्तिसँग लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सर्लाहीको कौडेना गाउँपालिकामा बुधबार आयोजित चुनावी छलफल कार्यक्रममा बोल्दै उहाँले आफू मधेशलगायत देशभर उत्पीडनमा परेका वर्ग र समुदायको अधिकारका लागि निरन्तर संघर्षरत रहने बताउनुभयो। महतोले मधेशी, थारु, मुस्लिम, जनजाति तथा पहिचान र अधिकारबाट वञ्चित वर्ग–समुदायको राजनीतिक आवाज बुलन्द बनाउने आफ्नो लक्ष्य रहेको उल्लेख गर्नुभयो। उहाँले देशभरका सीमान्तकृत समुदायको हकहितका लागि संसदभित्र र बाहिर दुवै स्थानमा सशक्त भूमिका निर्वाह गर्ने दाबी गर्नुभयो। साथै, आउँदो निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवारलाई मतदान गर्न मतदातासँग आग्रह गर्नुभयो ।

उम्मेदवारी दर्तापछि महतोले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै सर्लाहीका विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आउनुभएको छ। उहाँले पार्टीका नेता तथा कार्यकर्तासँग निरन्तर छलफल गर्दै अभियानलाई संगठित र प्रभावकारी बनाउने प्रयास गरिरहनुभएको छ। चुनावी अभियानको क्रममा महतोले सर्लाही सदरमुकाम मलङ्गवाका साथै ब्रह्मपुरी, हरिपुर्वा र विष्णु गाउँपालिका, कबिलासी नगरपालिका तथा कौडेना गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदातासँग अन्तरक्रिया गर्नुभएको हो। भेटघाटका क्रममा उहाँले स्थानीय समस्या, जनताको अपेक्षा र आवश्यकताबारे जानकारी लिँदै आफ्नो भावी कार्ययोजनाबारे स्पष्ट पार्नुभएको छ।

महतोले संसदमा पुगेर मधेशी समुदायसहित उत्पीडित तथा पछाडि पारिएका वर्गको अधिकार, पहिचान र आवाजलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार राजनीतिक परिवर्तन केवल सत्ता प्राप्तिका लागि होइन, जनताको जीवनस्तर उकास्ने र समान अधिकार सुनिश्चित गर्ने माध्यम हुनुपर्छ। चुनावी अभियानअन्तर्गत अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिँदै महतोले सर्लाही क्षेत्र नम्बर २ मा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै लैजानुभएको छ। स्थानीय मतदाताबीच उहाँको अभियानले चासो र उत्साह बढाएको बताइएको छ। महतोले आगामी दिनहरूमा पनि घरदैलो तथा सामूहिक कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद जारी राख्ने योजना रहेको जानकारी दिनुभयो।




Post Comment