मलंगवा नगरपालिकाको १५ औँ नगरसभा सम्पन्न
मलंगवा, पुस ३० ।
मलंगवा नगरपालिकाको १५औँ नगरसभा उद्घाटन सत्र बुधबार सम्पन्न भएको छ। नगर प्रमुख नागेन्द्र यादवको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन सत्रमा नगरपालिकाले हालसम्म गरेका कामको प्रगति समीक्षा गर्दै आगामी कार्यदिशाबारे छलफल गरिएको छ।

उद्घाटन सत्रमा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले नगरपालिकाका तर्फबाट सम्पन्न भएका गतिविधि, कार्यक्रम तथा योजनाको प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार नगरपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रमा निरन्तर पहल गर्दै आएको छ।
नगर प्रमुख नागेन्द्र यादवले नगरलाई स्वास्थ्य तथा समृद्ध बनाउने लक्ष्यसहित सबै वडामा डेंगु रोग नियन्त्रण कार्यक्रम, पोषण कार्यक्रम र परिवार नियोजनजस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। साथै, आगामी दिनमा स्वास्थ्य र सामाजिक क्षेत्रलाई थप प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो।
नगरसभामा लेखा समिति कार्यविधि–२०८२ छलफलका लागि पेश गरिएको छ। यसैगरी नगरको नीति तथा कार्यक्रम नगर प्रमुख यादवले सभामा प्रस्तुत गर्नुभएको थियो।
उद्घाटन सत्रमा सहभागी वडाध्यक्षहरूले आफ्ना धारणा राख्दै पछिल्लो समय नगरपालिकाबाट सम्पादन भएका कार्यहरूको समीक्षा गरेका थिए। उनीहरूले आगामी दिनमा अझ समन्वयात्मक रूपमा सहकार्य गर्दै नगर विकासलाई अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन्।
उद्घाटन कार्यक्रममा नगरकार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।



Post Comment