बुटवलमा आइसक्रिम चोरी आरोपमा फसाइएका शिक्षक निर्दोष
२९ भदौ, रुपन्देही ।
जेनजी आन्दोलनको नाममा बुटवलको भाटभटेनीमा आइसक्रिम चोरी गरेको आरोपमा सार्वजनिक बदनामी खेपेका शिक्षक शिवशंकर शुक्ला निर्दोष ठहरिएका छन् । गत शुक्रबार शुक्लालाई चोरीमा संलग्न देखाउँदै केही फोटो र भिडियोहरू सार्वजनिक भएपछि बुटवलस्थित कालिका मानवज्ञान स्कुलले उनलाई तत्काल प्रभावबाट बर्खास्त गरेको थियो । तर, पछि विभिन्न कोणबाट प्राप्त सिसिटिभी फुटेजको अध्ययन गर्दा शुक्ला उक्त घटनामा संलग्न नरहेको प्रमाणित भएको छ ।

स्वयं शुक्लाले समेत सामाजिक सञ्जालमार्फत आफ्नो निर्दोषिता प्रमाणित गर्ने भिडियो सार्वजनिक गरेका छन् । उनले भने, “म शिक्षण पेशामा छु, जीवनभर इमानदारीतापूर्वक पढाउँदै आएको छु । केही क्षणमै प्रमाणबिनै दोषी ठहरिएकोमा पीडा भएको छ, तर सत्य बाहिर आएकामा खुसी छु”। शुक्लाले न्यायको माग गर्दै भने, “म निर्दोष हुँदा हुँदै फसाइएको छ । विना प्रमाण विज्ञप्ति र मिडियावाजी गर्ने प्रध्यानाध्यापकलाई कारबाही हुनुपर्छ।” शुक्लाका दाइका अनुसार, व्यवस्थापन समितिमा यस विषयमा छलफल भइरहेको छ र चाँडै नै बर्खास्ती फिर्ता हुने बताएका छन् ।




Post Comment