अमेरिकाले गर्यो ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
६ भदौ काठमाडौँ ।
अमेरिकी स्टेट डिपार्टमेन्टले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भिसा खारेज गरेको छ । विभागले भिसा रद्द गर्नुको प्रमुख कारण अमेरिकी कानून उल्लङ्घन, ओभरस्टे, आपराधिक गतिविधि तथा आतंकवादसम्बन्धी मुद्दा रहेको स्पष्टीकरण दिएको छ । स्टेट डिपार्टमेन्टले दिएको विवरणअनुसार, रद्द गरिएका भिसामध्ये करिब ४ हजार विद्यार्थीले कानून उल्लङ्घन गरेका थिए । यसमा आक्रमण, मदिरा सेवन गरेर गाडी चलाउने, चोरीजस्ता आपराधिक घटनाहरू सामेल छन् ।
साथै, २०० देखि ३०० भिसा आईएनए ३ बी धारा अन्तर्गत आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा खारेज गरिएको हो । उक्त धारामा मानव जीवनलाई खतरामा पार्ने वा अमेरिकी कानून उल्लङ्घन गर्ने गतिविधिलाई ‘आतंकवादी गतिविधि’का रूपमा परिभाषित गरिएको छ । यस कदमलाई ट्रम्प प्रशासनको आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीमाथिको कडाइको निरन्तरता मानिएको छ । प्रशासनले पछिल्ला दिनमा प्यालेस्टाइन समर्थक आन्दोलनमा सहभागी भएका केही विद्यार्थीलाई पनि निशाना बनाएको र तिनीहरूलाई यहुदीविरोधी व्यवहार देखाएको भन्दै कारबाही गरिएको सीएनएनले जनाएको छ ।
ट्रम्प प्रशासनले यसअघि नै अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदन प्रक्रिया कडा बनाएको थियो । यस वर्षको शुरूआतमा केही समयका लागि भिसा अपोइन्टमेन्ट रोकेपछि जुन महिनामा फेरि खुलाउँदा सबै विद्यार्थीलाई आफ्नो सामाजिक सञ्जाल खाता सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको थियो ।
अधिकारीहरूले नागरिक, सरकार, संस्था वा अमेरिकी मूलभूत मूल्यको विरोध गर्ने गतिविधि भेटिएमा भिसा नदिने चेतावनी दिएका थिए ।
विद्यार्थी भिसा खारेज गर्ने यो कदममाथि अमेरिकी डेमोक्र्याट सांसदहरूले आलोचना गरेका छन् । उनीहरूले यसलाई ‘विद्यार्थीहरूको कानूनी प्रक्रिया र निष्पक्ष अवसरमाथिको आक्रमण’ भनेका छन् ।
ओपन डोर्सको तथ्याङ्कअनुसार २०२३/२४ शैक्षिक सत्रमा २१० भन्दा बढी मुलुकका ११ लाख भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी अमेरिकामा भर्ना भएका थिए ।
Post Comment