८ श्रावण २०८२, बुधबार

१३ वर्षपछि हुन लागेको कबड्डी विश्वकप खेल्न भारत जाँदै नेपाली टिम

२ साउन, काठमाडौं । 

महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली भोलि भारतको हरियाणा जाने भएको छ । प्रतियोगिता आगामी अगस्ट ३ देखि १० सम्म भारतको हरियाणाको मोरमाजरामा हुनेछ । सहभागी खेलाडीमा कप्तान मानमती विष्टसहित उपकप्तान जयन्ती बडु,  मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मीना नेपाली, गङ्गा घिमिरे, आशिका कुँवर, सृजनाकुमारी थारू, सृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सञ्जु थामी रहेका छन् ।

त्यस्तै, प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् । प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानीय पाँच क्लबसँग अभ्यास खेल पनि खेल्नेछ । एसियाका ४७ राष्ट्रमध्येबाट विश्व वरियतामा तेस्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्याण्ड, केन्या, अर्जेन्टिना र थाइल्याण्ड सहभागी हुनेछन् ।

विश्वकपको दोस्रो संस्करण १३ वर्षपछि हुन लागेको हो । पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो । टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टङ्कलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले आज यहाँ आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे । सदस्यसचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको उल्लेख गर्दै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?