१० श्रावण २०८२, शुक्रबार

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले सात पुल बगायो, डेढ करोड बढीको क्षति

२६ असार, मुस्ताङ । 

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा आएको अकल्पनीय बाढीले तीनवटा पक्की पुलसहित कुल सातवटा पुलमा क्षति पुर्‍याएको छ, जसबाट करिब डेढ करोडभन्दा बढीको नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीबाट भएको क्षतिको यकिन गर्न गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक टोली र सुरक्षाकर्मीहरूले बुधबार संयुक्त अनुगमन गरेका छन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीका अनुसार, मंगलबार साँझ लोमान्थाङ–४, चुम्जुङस्थित छुआमा खोलाको बाढीले आर्का–भार्सा जोड्ने पक्की पुलसहित तीनवटा पक्की मोटरेबल पुल, एक फलामे पुल र तीनवटा काठेपुलमा पूर्ण क्षति पुर्‍याएको छ। यस बाढीबाट सडक पुलहरूमा क्षति पुगे पनि मानवीय तथा पशुचौपायामा भने कुनै क्षति नभएको जनाइएको छ। गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले लोमान्थाङ गाउँपालिकाभित्रको रिङरोड सडक र अन्य शाखा सडक जोड्ने पक्की तथा अस्थायी पुलहरूमा क्षति पुगेको बताउँदै रिङरोड सडकको सवारी आवागमन अवरुद्ध भएको जानकारी दिए। पानी नै नपर्ने भनेर चिनिएको हिमाली जिल्ला मुस्ताङमा यसरी अकल्पनीय बाढी आउनुको कारण हिमताल फुटेको हुनसक्ने आशंका गरिएको छ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष गुरुङले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा वर्षा नभएको स्थानीयसँगको कुराकानीबाट पुष्टि भएको बताए। “हामीले बाढी आउँदा त्यस स्थान र मुहानको लेकमा मौसमी अवस्था कस्तो थियो भनेर स्थानीयसँग जानकारी लियौँ, उनीहरूले त्यस क्षेत्रमा पानी नपरेको जनाएका छन्,” अध्यक्ष गुरुङले भने, “यसरी एकाएक बाढी आउनुको एउटै कारण हुनसक्छ, त्यो हो हिमताल फुट्नु।” लोमान्थाङ–२ छोसेरस्थित नेचुङको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) का सशस्त्र प्रहरी निरीक्षक विष्णुहरि थापाले पनि चुम्जुङस्थित छुआमा खोलाको

मुहान भएको लेकमा हिमतालहरू रहेको यार्सा सङ्कलन गर्नेहरूले बताएको उल्लेख गरे। “यहाँ बाढी आउनुको मुख्य कारण हिमपात नै फुटेर हो कि भन्ने हाम्रो अनुमान छ, बाढी आउँदा मुहानको लेकमा पानी परेको थियो भनेर जानकारी आइसकेको छैन,” उनले भने। लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङका शाखा नदीहरूको मुहानमा दर्जनौं हिमताल रहेको जानकारी दिँदै जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भइरहेकाले उच्च लेकमा रहेका हिमालका हिउँका ढिस्का खसेर हिमतालमा क्षति पुर्‍याउने सम्भावना रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?