खानेपानीमन्त्री यादव स्पेन प्रस्थान
१५ असार, काठमाडौं ।
खानेपानीमन्त्री प्रदीप यादव स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन मन्त्री यादव त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीका अनुसार, कार्यक्रम यही असार १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ ।
विकासका लागि वित्तसम्बन्धी उक्त सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनेछन् । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुने जनाइएको छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स (एफएफडी–४)’ का लागि राष्ट्रंघका महासचिव एन्टेनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार भ्रमणमा गएका थिए ।
Post Comment