२७ जेष्ठ २०८२, सोमबार

विपदमा परी मधेशमा चालु आर्थिक वर्षमै ४२२ को मृ*त्यु

२६ जेठ,जनकपुर

मधेश प्रदेशमा चालु आर्थिक वर्षमै विपदमा परी ४२२ जनाको ज्यान गएको छ । बर्दिवासमा आइतबार मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद्सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले बाढीले बगाएर, पानीमा डुबेर, चट्याङ, आगलागी, हावाहुरी र हिंस्रक जन्तुको आक्रमणसहितका घटनामा परी उक्त सङ्ख्यामा मानवीय क्षति भएको जनाएको हो ।

साना ठूला गरी यस अवधिमा दुई हजार २५८ विपद्का घटना घटेकामा ९०० जना घाइते र ५६ करोड ६७ लाख २४ हजार २१२ बराबरको आर्थिक क्षति भएको प्रदेश प्रहरी कार्यालयले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ । प्रदेशका आठ वटै जिल्लामा दुई लाख २८ हजार ६८७ सर्वसाधारण वर्खाजन्य विपद्को जोखिममा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको आँकलन छ । यो सङ्ख्या प्रदेशका ५२ हजार ३३१ प्रिवारको रहेको प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले बताए । महोत्तरी, धनुषा र सर्लाही तीन जिल्लालाई समेटेर गरिएको कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिवसहितका अधिकारी, प्रदेशस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

विपद् प्रतिकार्य र उद्धारमा सरिक हुँदै आएका सामाजिक सङ्घसंस्थाका अधिकांश अगुवाहरूले विपद् लापरबाही र अटेरीपनले पनि हुने गरेका टिप्पणी गरे । विकास योजना सञ्चालन गर्दा विपद् सम्वेदनशीलता नअपनाइने सहभागीहरूले टिप्पणी गरे । मधेशमा डुबान, कटानजस्ता विपद् सडक बनाइँदा बन्द गरिएका ढल, पानीको प्राकृतिक निकास अवरुद्ध र इटा, बालु, ढुङ्गा र फलामे छड जथाभावी राखिने क्रमले पनि हुने गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए । महोत्तरीका सात वटा स्थानीय तह सधैँ वर्खा सुरु हुनासाथ कटान र डुबानको जोखिममा रहने गरेका उनको भनाइ छ ।

विपद्का प्रकृति, अवस्था  र निदानका उपायबारे स्थानीय तहले नै प्रारम्भिक नक्साङ्न गरेर जिल्लास्थित विपद् व्यवस्थापन समिति, प्रादेशिक र सङ्घीय सरकारमा पहलकदमी लिन पर्नेमा त्यस्तो हुन नसकेको सहभागीको गुनासो थियो । प्रदेशमै विपद पूर्वतयारीका काम खासै नभएको गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको स्वीकारोक्ति छ । यसअघि यस्तो प्रयास भएको नपाइएपनि जनधनको सुरक्षार्थ यसपालि बर्खापूर्व योजनाबद्ध तयारी थालिएको उनले जानकारी दिए । आगामी  आर्थिक वर्ष २०८२/८३ को बजेटमा विपद् बचावका कार्यक्रम समावेस गरिने, प्रतिकार्य र उद्धार प्रभावकारी बनाउन कार्ययोजना बनाइने उहाँले प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?