प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखिएको दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले सरकारले ३ करोडभन्दा कम बजेटका आयोजनाहरू संघअन्तर्गत नराखिएको दाबी गरिरहेको तर सहरी विकास मन्त्रालयको विनियोजित बजेटमा २ लाखसम्मका आयोजना रहेको पाएको दाबी गरेका हुन् ।
बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्मित रहेको बताए । सहरी विकास मन्त्रालय एउटैमा मात्रै पनि ३२ अर्ब चलखेल भएको देखिने उनको भनाई थियो । उनले योजनाहरू आफूखुसी राखेको स्पष्ट देखिएको पनि बताए । उनले भने, ‘यस पटक हिजो सहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो । गत वर्ष ९२ अर्ब थियो । यस पटक १ खर्ब १८ अर्ब पुगेको छ । २६ अर्ब त यसै पनि बढ्यो । तर उसको सिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने । हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरू रहेछन् । अनि किन यो ३ करोडको भनेर उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रीलाई सोध्दा होइन, २५ लाख भन्दा मुनिको त हालेको छैन भन्नुभयो । यी दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नुभएन ।

१७ हजारबाट कटाएको छैन । सशर्तमा झन् अरू अरूतिर सारेको देखिन्छ । सशर्तको रकम गत वर्षको भन्दा बढेको छ । सशर्त त घटाउने हो खासमा । घटाउँदै गएर समानीकरणमा बढाइदिने हो । तीन करोडको योजना होइन, दुई लाखको योजना राखिएको आइसक्यो । यस पटक अलि मनपर्दी गरेको छ । एउटै सहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबै खाले आफूखुसी राखेको देखिन्छ ।’ बजेटमा १६ औँ योजनाको कुनै चर्चा नरहेको बताए । उनले संविधान जारी भएपछि माओवादी केन्द्रले विपक्षीमा रहेर पहिलो पटक बजेटको विषयमा आफ्ना धारणा राखेको बताए । नीति तथा कार्यक्रममाथि पनि पहिलो पटक आफ्ना धारणा राखेको जिकिर गरे ।
Post Comment