बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ
बारामा प्रधानाध्यापकको हत्या आरोपमा एक महिला पक्राउ।
कार्तिक १३। अमरेश कुमार पाण्डेय
बारा । कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक गुड्डु भनिने रुपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले शंकाको आधारमा कलैयाकै एक महिलालाई पक्राउ गरी अहिले अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकी ती महिला घट्नाको मुख्य योजनाकार रहेको र बाँकी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो एक खाजा पसलबाट खाजा लिएर स्कुल फर्किरहेका स्वर्णकारलाई दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले कलैया मदर्सा टोलस्थित ग्रीन भ्याली बोर्डिङ्ग स्कुल अगाडि छाती र घाटीमा चार राउण्ड गोली हानेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
गोली लागेर घाइते भएका उनलाई कलैया प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि वीरगञ्जस्थित वयोधा अस्पतालमा लगिएकोमा स्वर्णकारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट ठूलो संख्यामा प्रहरी परिचालन भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।