अज्ञात समूहको आक्रमणबाट वृद्धको मृ*त्यु,
१४ वैशाख, सङ्खुवासभा ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा अज्ञात समूहको आक्रमणबाट वृद्धको मृत्यु भएको छ। आक्रमणबाट गम्भीर घाइते भएका खाँदबारी–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको मृत्यु जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए। घटनाको अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर ल्याइएको छ।
अपरिचित समूहको आक्रमणबाट गम्भीर घाइते भएका वृद्ध कुमालको मनकामना सामुदायिक अस्पतालमा पुर्याउनु अघि नै मृत्यु भइसकेको थियो। आफ्नै घरमा सुतिरहेका कुमालको गएराति साढे १२ बजे तिर अपरिचित दुई जनाको समूहले घाँटीमा थिचेर गम्भीर घाइते भएका कुमाललाई अस्पताल लैजाने क्रममा मृत्यु भएको घटनास्थल पुगेका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। बरन्डा कोठामा सुति रहेका कुमालाई आक्रमण गरेको आवाज थाहा पाएपछि घरभित्र सुतिरहेकी श्रीमती सुनामाया कुमाल बाहिर निस्किएकी थिइन्। बाहिर निस्कँदा श्रीमानलाई दुई जनाले आक्रमण गरेको देखेपछि उनले छिमेकीलाई खबर गरेपछि छिमेकी घटना स्थल पुगेका थिए।
घटनास्थलमा मृतक कुमाल घाइते अवस्थामा देखेपछि उनीहरूले घाइतेलाई अस्पताल लगेको प्रहरी निरीक्षक लामिछानेले जानकारी गराए। घटना लगत्तै फरार भएका व्यक्तिहरूको खोजी भइरहेको जनाएको उनले बताए। वृद्धको हत्या के कारण भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन। घटना लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेत सहितको टोली खटिएको थियो। फरार अभियुक्तहरूको खोजीका लागि सबै नाका सिल गरिएको प्रहरीले जनाएको छ। मृतक कुमालको घरमा श्रीमतीसहित बस्दै थिए। मृतकका दुई छोरा विदेशमा छन्।
Post Comment