२६ जेष्ठ २०८२, आईतवार

इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने

२४ असोज, काठमाडौं । इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् ।

नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने तय भएको छ । इजरायलको दक्षिणी क्षेत्रमा प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबारदेखि सुरु गरेको रकेट आक्रमण अहिले दोहोर युद्धमा परिणत भएको छ । हमासको आक्रमणमा परेका विद्यार्थीहरू नेपालका त्रिभुव विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र कृषि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ प्रोग्रामअन्तर्गत इजरायल पुगेका थिए ।

उक्त क्षेत्रमा तनाव बढ्दै गएपछि नेपाल सरकारको समन्वयमा इजरायली सुरक्षा संयन्त्रले उनीहरूलाई सुरक्षित स्थानमा सारेको छ । दूतावासका अनुसार गाजासँगको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीहरुलाई उद्दार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । यस्तै इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना नेपाली विद्यार्थीहरुलाई पनि थप अझ सुरक्षित ठाउँमा सारिएको दूतावासले जनाएको छ ।

नेपाली दूतावासका अनुसार हमास समूहको आक्रमणबाट घाइते भई उपचारको क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ । हराइरहरेको एक जना नेपाली विद्यार्थीको खोजीकार्य प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा अझ तिब्र पारिएको नेपाली दूतावासले जनाएको छ । सरकारले इजरायलबाट नेपाल फर्किन चाहनेहरूका लागि अनलाइनमार्फत रजिष्ट्रेसन फर्म खुला गरेर विवरण संकलन गरिरहेको छ । नेपाली दूतावासका अनुसार हालसम्म करिब चार सय नेपाली नागरिकले नेपाल फर्किन चाहेका छन् । तर शनिबारदेखि त्रासदीपूर्ण वातावरणमा आफू बसिरहे पनि नेपाल सरकारले समयमै नेपाल फिर्ता लिन नसकेको गुनासो नेपाली विद्यार्थीहरूको छ । इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हवाईजहाज पुग्नेबित्तिकै उनीहरूको नेपाल फिर्ताको सुरु हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0