१० श्रावण २०८२, शुक्रबार

बसिरको अविजित ८६ रनमा आर्मीको मध्यम योगफल

 

१६ चैत, काठमाडौं ।

बसिर अहमदले अविजित रहँदै कठिन परिस्थितिका बीच ८६ रनको पारी खेलेपछि त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध मध्यम योगफल बनाएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमा अलआउट भयो । बसिरले १०४ बलमा ९ चौका र १ छक्कासहित ८६ रन बनाए ।

२५ रनमै ५ विकेट गुमेपछि बसिरले कप्तान विनोद भण्डारीसग मिलेर ८० रनको साझेदारी गरेका थिए । विनोद २९ रनमा आउट भए । विवेक यादवले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसका लागि करण केसी र सागर ढकालले ३-३ विकेट लिए भने कप्तान दिपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी र गुल्शन झाले १-१ विकेट लिए । दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए । आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएको थियो । गतवर्षको फाइनलमा पनि यी दुई टोली नै भिडेका थिए जहाँ आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको थियो ।

त्यस्तै जय ट्रफी एलिट कपको फाइनलमा पनि पुलिसले बाजी मारेको थियो । सन् २०१७ को पीएम कप फाइनलमा टाइ भएपछि यि दुवै टोलीले संयुक्त उपाधि जितेका थिए भने त्यसयता पुलिसले २ पटक उपाधि जित्दा आर्मीले १ पटक जितेको छ । आर्मी २०१७ देखि हरेक संस्करणमा फाइनलमा पुग्दा चारपटक फाइनलमा पराजित भएको थियो भने एकपटक संयुक्त उपाधि र २०२१ मा एपीएफलाई हराउँदै उपाधि जितेको थियो ।पुलिस भने ३ पटक फाइनल पुग्दा तीनपटक नै उपाधि जितेको थियो । पुलिस उपाधि संख्या ४ पुर्‍याउन चाहनेछ भने आर्मी बराबरी गर्न चाहनेछ । आर्मी र पुलिससँगै शीर्ष ४ मा परेका एपीएफ क्लब र बागमती प्रदेश जय ट्रफी एलिट कपका लागि छनोट भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?