आर्थिक विवादका कारण जनमत पार्टीका कोषाध्यक्षमाथि कारबाही
२५ फागुन, जनमत पार्टीमा आर्थिक विवादलाई लिएर कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई कारबाही गरिएको छ। हिसाबकिताबको विवाद चर्किएपछि अध्यक्ष सीके राउतले कोषाध्यक्ष यादवलाई कारबाही गरेका हुन्। यादवलाई ११ फागुनमा स्पष्टीकरण सोधिएको थियो। आर्थिक पारदर्शिता नभएको भन्दै विभिन्न चारवटा आरोप लगाई स्पष्टीकरण सोधिएको थियो।
स्पष्टकीरणको जवाफ नदिँदै कोषाध्यक्ष यादवमाथि कारबाहीमा गरिएको छ। कोषाध्यक्ष यादवमाथि चन्दा उठाएर व्यक्तिगत लाभ लिएको आरोप लागेको छ। उनले विभिन्न कार्यकर्ताबाट उठाएको लेबीबाट काठमाडौँमा घर किन्नेदेखि जनकपुरमा व्यवसाय गरेकोसम्म आरोप छ। आफूले पार्टीमा करिब ५ करोडसम्म लगानी गरेको र त्यसको हिसाब मागेपछि कारबाही गरिएको दाबी उनले गरेका छन्।
आफूले पार्टीभित्र हिसाबकिताब माग्न थालेपछि केन्द्रीय समितिको बैठकअघि कारबाही गरिएको दाबी गरेका छन्। भोलिदेखि जनमतको केन्द्रीय समिति बैठक बस्दैछ। यादवमाथि गुटबन्दी गरेको, पार्टी विभाजन गराउने खेलमा लागेको आरोप पनि लागेको छ । पार्टीको अनुशासन समितिले कोषाध्यक्ष यादवलाई सोधेको स्पष्टीकरणमा पार्टी विभाजनका लागि चलखेल गरेको बारे उल्लेख गरिएको छ। साथै, समितिले अनुशासन समितिका संयोजक दीपक साहलाई पनि कारबाही गरेको छ।
Post Comment