अमेरिकामा फेरी अर्को विमान दुर्घटना
१९ माघ, काठमाडौं । अमेरिकामा शुक्रबार साँझ फेरी अर्को विमान दुर्घटना भएको छ । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको भीडभाड भएको क्षेत्रमा मेडिकल ट्रान्सपोर्टेसन मिसनमा खटिएको एउटा सानो विमान दुर्घटना भएको थियो । अमेरिकी सहयोगी सीबीएसका अनुसार विमान दुर्घटना हुँदा स्थानीय घर र सवारी साधनमा आगलागी भएको थियो ।
विमान दुर्घटनाका कारण जमिनमा रहेका मानिसहरू पनि घाइते भएका छन् । विमानमा एक डाक्टर, एक बिरामी बालकसहित ६ जना रहेको सीबीएसले जनाएको छ । विमान दुर्घटना के कति कारणले भएको थियो, त्यो अहिले खुलेको छैन । क्षतिको विवरण अहिले आइपुगेको छैन । दुर्घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी र उद्दारकर्मी परिचालन गरिएको छ । लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया एयरपोर्टबाट साँझ ६:३० बजे (स्थानीय समय) मा उडेको थियो ।
करिब ६ किलोमिटर उडेपछि विमान दुर्घटनाग्रस्त भएको थियो। रुजवेल्ट मलबाट केही दूरीमा यो विमान दुर्घटना भएको थियो । यो पेन्सिलभेनिया सहरको घना आबादी भएको क्षेत्रमा अवस्थित तीन तले किनमेल केन्द्र हो। बुधबार राति मात्रै वासिङ्टन डिसीमा आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाकै मृत्यु भएको थियो । रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको जेट विमान ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो ।

Post Comment