पीएल सिंहको निधनमा कांग्रेसले सबै कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने
१ पुस, काठमाडौं ।
नेपाली कांग्रेसले प्रेमलाल (पीएल) सिंहको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । कांग्रेसको सोमबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक मनाउने निर्णय गरेको हो । पुस १, २ र ३ गते, तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय कांग्रेसको छ । त्यस्तै, पुस २ गते मंगलबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने कांग्रेसले निर्णय गरेको छ ।
सिंहको निधनको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औं दिनमा सम्बन्धित जिल्ला, काठमाडौंमा शोक सभाको आयोजना गर्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ८८ वर्षीय प्रेमलाल (पीएल) सिंहको काठमाडौंको चाक्सीबारीमा गएराति १:०० बजे निधन भएको थियो । दिवंगत सिंह लामो समयदेखि सर्वोच्च नेता एवं लौहपुरुष गणेशमान सिंहको सन्निकटमा रहेर काम गरेका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा संलग्न रहँदा उनले पटक–पटक जेल जीवन व्यतित गरेका थिए । उनले भारतमा निर्वासित जीवन समेत बिताएको कांग्रेसले जनाएको छ ।
प्रजातन्त्र पुनर्स्थापनापछिको २०४९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उनी काठमाडौं नगरपालिकाको पहिलो नगर प्रमुखमा निर्वाचित भएका थिए । दिवंगत सिंहकै पहलमा २०५२ मा काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । त्यसैगरी, २०५६ मा उनी कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य भएका थिए । सिंहको निधनमा काठमाडौं महानगरपालिकाले सोमबार अत्यावश्यक सेवाबाहेक काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक विदा दिएको छ ।
Post Comment