यात्रुको चिन्ता : कति दिनमा घर पुगिन्छ‚ ठेगान छैन
सारांश
- आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँमा अलपत्र छन्।
- कति दिनपछि घर पुग्ने हो‚ कुनै ठेगान छैन।
- असोज ११ गतेदेखि काठमाडौँको नागढुङ्गा हुँदै जाने सवारीसाधन गन्तव्यमा जान सकेका छैनन्।
१५ असोज ,काठमाडौँ : वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा दशैँको मुखमा यात्रा कष्टकर बनेको छ। आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँमा अलपत्र छन्।

कति दिनपछि घर पुग्ने हो‚ कुनै ठेगान छैन। असोज ११ गतेदेखि काठमाडौँको नागढुङ्गा हुँदै जाने सवारीसाधन गन्तव्यमा जान सकेका छैनन्। १४ गते दिउँसोबाट रात्रिबस काठमाडौँबाट छुटाउन थालिएको थियो। दशैँका यात्रु भरिभराउ ती बस एकैचोटि निस्किए। राजमार्गमा उछिन्ने बानीले सडक खुले पनि जामको समस्या कायमै छ। बीचबीचमा पुनः पहिरो खस्ने र ठाउँठाउँमा एकतर्फी सडकले जाम थपिएको छ। अब यात्रुले यो दशैँमा घर पुग्न ठूलै युद्ध जिते झैँ हुने अवस्था छ।

सोमबार राति ११ बजे नागढुङ्गा नाका हुँदै उपत्यका छाड्ने यात्रु बोकेका बस काठमाडौँको नैकापसम्म लाइन थियो। आज पनि ती बस अघि बढ्न सकेका छैनन्। नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भासिएका कारण उक्त खण्ड पनि पूर्णरूपमा बन्द हुँदा गाडीको चाप थपिएको छ। बिपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ। कामचलाउका रूपमा मात्रै यातायात सञ्चालन गरिएको छ। सामान्य पानी परेको खण्डमा यातायात पूर्णरूपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउँछन्।

‘यस्तै अवस्था रहे गाडी लैजान सक्दैनौँ’‚ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला ले भने‚ ‘बीपी राजमार्ग ठप्पै छ, त्यहाँ ६०० सवारी साधन रोकिएका छन्, चालक खान नपाएको भनेर आफूलाई फोन गरिरहेका छन्, दुवैपट्टि पहिरो गएर बीचमा जोखिमपूर्ण अवस्थामा गाडी अड्किएका छन्, खाना खान पाएका छैनन्। कसरी चलाउन सकिन्छ गाडी?’ उनले टिकट बुक गर्न सक्ने अवस्था नभएको बताउँदै भने‚ ‘गाडी समयमा आउने अवस्था नरहे यात्रुका पैसा फिर्ता गर्नेछौँ।’

सम्बन्धित खबर
प्रतिक्रिया