२६ जेष्ठ २०८२, आईतवार

जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक भण्डारीविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागका पूर्वमहानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध साढे ३ करोड रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले राजभण्डारीविरुद्ध सोमबार ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ बिगो, त्यत्ति नै जरिवाना, स्रोत नखुलेको रकमबाट बढे/बढाइएको चल/अचल सम्पत्ति जफत र कैद सजाय मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि राजभण्डारीकी श्रीमती दीपा श्रेष्ठलाई पनि प्रतिवादी बनाएको छ ।

अख्तियारले करिब २८ वर्ष सरकारी सेवामा रहेका राजभण्डारीको २०५१ फागुन देखि २०७९ भदौ मसान्तसम्मको चलअचल सम्पत्ति अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा ७ करोड ७२ लाख २९ हजार ८६ रुपैयाँ ६५ पैसा बराबरको आर्थिक कारोबार गरेको र त्यसमध्ये ३ करोड ५६ लाख ७७ हजार ३ सय ४६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेपछि त्यसलाई नै बिगो कायम गरेर मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

 

बिगो कायम गरिएको घरजग्गाको मूल्य मालपोतमा उल्लेख गरिएको न्यून मूल्यांकन अनुसार भएकोले यसको अहिलेको बजार मूल्य करोडौं रुपैयाँ बराबर हुन आउने अनुसन्धानमा संलग्न अख्तियार स्रोतको भनाइ छ । भ्रष्टाचारबाट आर्जित सम्पत्ति राजभण्डारीले घरजग्गा खरिद, घर निर्माण, विभिन्न कम्पनीमा लगानी, बीमा प्रिमियममा भुक्तानीमा लगानी गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0