सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ९, २०८३
|
|
५५ पटक हेरिएको
Shares
सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

सारांश

  • लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले मंगलबार स्थलगत निरीक्षण गरेको छ ।
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १ गते वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।
  • सोही कार्यदलले आज कारखाना परिसर पुगेर स्थलगत निरीक्षण गरेको छ ।

 

९ भदौं, वीरगञ्ज ।

लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदलले मंगलबार स्थलगत निरीक्षण गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १ गते वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको थियो । सोही कार्यदलले आज कारखाना परिसर पुगेर स्थलगत निरीक्षण गरेको छ ।

कारखानाको वर्तमान अवस्था, उपलब्ध संरचना तथा पुन: सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधारबारे स्थलगत जानकारी लिन कार्यदलले निरीक्षण गरेको हो । मन्त्रिपरिषद्को निर्णयबाटै खारेजीमा परेको वीरगञ्ज चिनी कारखानाको वर्तमान अवस्था, विगतमा भएका निर्णय, कारखाना पुन: सञ्चालनका लागि यसअघि तयार गरिएका अध्ययन तथा प्रतिवेदन र अब चाल्नुपर्ने आवश्यक कदमबारे कार्यदलले अध्ययन गर्नेछ । निरीक्षणका क्रममा कारखाना परिसरमा रहेका भवन, कारखानाका विभिन्न संरचना, मेसिनरी, उपकरण तथा पार्टपुर्जाको अवस्थासमेत अध्ययन भइरहेको छ । ती संरचनाको वर्तमान अवस्था कस्तो छ र पुन: सञ्चालनका क्रममा तिनलाई उपयोग गर्न सकिने वा नसकिनेबारे पनि कार्यदलले मूल्याङ्कन गर्नेछ ।

कारखाना पुन: सञ्चालनका लागि आवश्यक पर्ने सम्भावित लगानी, संरचना मर्मत तथा पुनर्निर्माण, मेसिनरीको अवस्था र उत्पादन सञ्चालनका लागि आवश्यक पूर्वाधारलगायत विषयलाई समेत अध्ययनको दायरामा राखिएको छ । मन्त्रालयले गठन गरेको कार्यदलको संयोजकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सीडीई श्रीकान्त यादव रहेका छन् । सदस्यमा मन्त्रालयकी शाखा अधिकृत ज्योति पौडेल र उद्योग मन्त्रालयका सल्लाहकार श्याम शर्मा रहेका छन् । कार्यदललाई आफ्नो अध्ययन पूरा गरी १५ दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । स्थलगत निरीक्षणसहित आवश्यक अध्ययन पूरा गरेपछि कार्यदलले वीरगन्ज चिनी कारखाना पुन: सञ्चालन गर्न सकिने अवस्था, त्यसका लागि आवश्यक प्रक्रिया तथा सम्भावित कार्ययोजनाबारे सरकारलाई सुझाव दिनेछ ।

वीरगञ्ज चिनी कारखाना लामो समयदेखि बन्द अवस्थामा रहेकाले यसको सम्पत्ति तथा संरचना जीर्ण बन्दै गएको छ । कारखाना पुन: सञ्चालनको विषय विगतदेखि नै चर्चामा रहेपनि ठोस निर्णय र कार्यान्वयन हुन सकेको छैन । पछिल्लो पटक सरकारले औपचारिक रूपमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेपछि कारखाना पुन: सञ्चालनको सम्भावनाबारे फेरि बहस सुरु भएको छ । स्थलगत निरीक्षणपछि तयार हुने कार्यदलको प्रतिवेदनले कारखाना पुन: सञ्चालनका लागि आवश्यक प्राविधिक, आर्थिक तथा व्यवस्थापकीय पक्षबारे स्पष्ट आधार दिने अपेक्षा गरिएको छ । सरकारले सोही प्रतिवेदनका आधारमा कारखाना पुन: सञ्चालनका सम्बन्धमा थप निर्णय लिनेछ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?