बिहारको अशोकधाममा भागदौड, सात महिलाले ज्यान गुमाए
सारांश
- भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान दर्शनका लागि लागेको भीडमा भागदौडजस्तै अवस्था सिर्जना हुँदा सात महिलाको मृत्यु भएको छ ।
- घटनामा अन्य पाँचदेखि छ जना घाइते भएका छन् ।
- लखीसरायका सब–डिभिजनल प्रहरी अधिकृत (एसडीपीओ) शिवम कुमारका अनुसार मन्दिर परिसरमा अत्यधिक भीडका कारण उक्त घटना भएको हो ।
१ भदौ बिहार ।
भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार बिहान दर्शनका लागि लागेको भीडमा भागदौडजस्तै अवस्था सिर्जना हुँदा सात महिलाको मृत्यु भएको छ । घटनामा अन्य पाँचदेखि छ जना घाइते भएका छन् । लखीसरायका सब–डिभिजनल प्रहरी अधिकृत (एसडीपीओ) शिवम कुमारका अनुसार मन्दिर परिसरमा अत्यधिक भीडका कारण उक्त घटना भएको हो । घाइतेहरूको जिल्ला सदर अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रशासनका अनुसार मृत्यु हुने सबै सात जना महिला हुन् ।

लखीसरायका प्रमुख जिल्ला अधिकारी शैलेन्द्र कुमारले पत्रकारहरूसँग कुरा गर्दै अशोकधाम हल्ट रेल्वे स्टेशनदेखि मन्दिरसम्म दर्शनार्थीको लामो लाइन लागेको बताए । उनका अनुसार सोही समयमा स्टेशनमा दुई वटा रेल आइपुगेपछि भीड थप बढेको थियो । त्यसबीच विद्युत्को खम्बा ढलेको हल्ला फैलिएको थियो । यद्यपि खम्बा नभई केवल विद्युत् तार चुँडिएको थियो। हल्लापछि महिलाहरूको लाइनमा एक्कासि चाप बढ्दा उनीहरू एकअर्कामाथि खस्न पुगेका थिए । घटनापछि प्रशासनिक तथा सुरक्षा अधिकारीहरू तत्काल घटनास्थल पुगेका थिए । उनीहरूले उद्धार कार्य सञ्चालन गर्नुका साथै भीड व्यवस्थापनमा ध्यान केन्द्रित गरेका छन् । स्थानीय प्रशासनले अवस्थामाथि निरन्तर निगरानी राखिएको जनाएको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार एक प्रत्यक्षदर्शी महिलाले अत्यधिक भीडका कारण आफूहरूमाथि मानिसहरू खस्दै गएको बताएकी छन् । उनका अनुसार करिब २० देखि २५ जना महिला एकअर्कामाथि खसेका थिए र भीडको चापमा परेर धेरै जना बेहोस भएका थिए ।

प्रतिक्रिया