उद्योग वाणिज्य महासंघको अध्यक्षमा अन्जन श्रेष्ठ : को को छन नयाँ कार्यसमितीमा ?
सारांश
- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा नयाँ कार्यकारिणी चयन भएको छ ।
- महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पदोन्नति भएका छन् ।
- महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार उनको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो ।
२३ वैशाख, काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नेतृत्वमा नयाँ कार्यकारिणी चयन भएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पदोन्नति भएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान अनुसार उनको कार्यकाल औपचारिक रूपमा सुरु भएको हो । महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रियापछि मंगलबार सम्पन्न मतदानको मतगणना बुधबार दिउँसो सकिएको छ । त्यसबाट विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको छ ।

जिल्ला तथा नगरतर्फ दुई उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् । शर्माले ८७ मत प्राप्त गर्दा श्रेष्ठले ८० मत ल्याएर सफलता हासिल गरेका हुन् । त्यसैगरी, वस्तुगत संघतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई पराजित गरेका हुन्, जसले ६० मत पाएका थिए । एसोसिएटतर्फको उपाध्यक्ष पदमा लोमस फर्मास्युटिकल्सका प्रबलजंग पाण्डे विजयी भएका छन् । उनले मेरिगोल्ड ज्वेलर्सकी ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै उक्त पदमा स्थान सुरक्षित गरेका हुन् । नयाँ नेतृत्वसँगै महासंघले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आर्थिक गतिविधि सुदृढ गर्ने, उद्योग–व्यापारमैत्री वातावरण निर्माण गर्ने र नीतिगत संवादलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया