चीनले हालै सार्वजनिक गरेको पञ्चवर्षीय योजनाको नेपाललगायत सबै छिमेकीका निम्ति आर्थिक विकासको ढोका खोल्ने जानकारी दिँदै चिनियाँ राजदूतले नेपालको आवश्यकताअनुसार योजना तर्जुमा गरिएको बताए । ‘नेपालका कृषि उत्पादनलाई चिनियाँ बजारमा पुर्याउने परियोजनामा काम भइरहेको छ, हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ,’ पञ्चवर्षीय योजनाका विशेषताबारे जानकारी दिँदै राजदूत छनले भने । ती योजना चीन र नेपालका निम्ति वरदान सावित हुने उनको कथन छ । नेपालको राजनीति स्थायित्व, विकास र समृद्ध नै चीनको चाहना भएको दोहोर्याउँदै उनले अन्तरिम सरकारसँग निकट सम्पर्कमा रहेर चीनले काम गरिरहेको बताए । रणनीतिक योजना तथा भरपर्दो विकास साझेदारको अभावमा नेपालको विकास सुस्त गतिमा भएको विश्लेषण सुनाउँदै उनले नेपालको विकासमा सघाउन चिनियाँ पञ्चवर्षीय योजनामा नेपालको विकासका परियोजना पनि समाहित गरिएका जानकारी दिए । अन्य छिमेकीलाई पनि सघाने परियोजना १५औं पञ्चवर्षीय योजनामा समेटिएका उनले बताए ।

ताइवान, हङकङ र मकाउ चीनका अभिभाज्य भूभाग हुन् भन्ने मान्यतालाई नेपालका सबै सरकारले स्वीकार गरेर एक चीन सिद्धान्तप्रति अटल ऐक्यबद्धता जनाएर तदनुरूप व्यवहार गरेकामा आभार व्यक्त गर्दै चिनियाँ राजदूतले चीन र नेपालबीचको मैत्री सधैँ सुमधुर रहेको बताए । चीन–नेपाल सम्बन्धलाई प्रभावित पार्ने विषयप्रति जेनजी अगुवाहरूको पनि विमति नरहेको आफूले पाएको उनले बताए । एक प्रश्नको जवाफमा राजदूत छनले चीन र नेपालले अन्तरराष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएको, दुवै देशले संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेका, विधिमा आधारित विश्व व्यवस्थालाई मानेका बताए । राजदूत छनले भनेका छन्, ‘आधुनिक चीनको निर्माणअघि जेनजी आन्दोलन चीनमा पनि भएको यसलाई विश्वका विभिन्न देशमा कुन पृष्ठभूमिमा भएका थिए त्यसको विवेचना गर्नुपर्छ, नेपालमा पनि राष्ट्रलाई केन्द्रमा राखेर गरिएको, सुशासन प्रवद्र्धनलगायत उनीहरूमा मुद्दा सकारात्मक परिवर्तनका निम्ति भएको मेरो बुझाइ छ ।’

राजदूत छनका अनुसार पन्ध्रौँ पञ्चवर्षीय योजनामा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई सुदृढ गर्ने, जनताको हितलाई प्राथमिकता दिइएको, उच्चस्तरीय विकास हासिल गर्दै योजनाको अन्त्यसम्ममा प्रतिव्यक्ति आय २० हजार अमेरिकी डलर कायम गर्ने विकास र सुरक्षालाई समान रूपमा सुनिश्चित गर्ने, खुलापन नीतिलाई अझ विस्तार गर्ने, सहकार्यका नयाँ अवसरहरू खोल्ने, बहुपक्षीय व्यापार प्रणालीलाई दृढतापूर्वक समर्थन गर्ने, चिनियाँ विशेषतासहितको सामाजिक सुशासन सुदृढीकरण तथा राष्ट्रिय एकीकरणमा जोड दिएको छ ।


प्रतिक्रिया